‘प्रचण्ड सरकार किसानको हितमा काम गर्दैन’

काठमाडौँ - नेकपा एमालेका नेता डा. भीम रावलले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नेपाली किसानको हितमा काम नगरेको बताएका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत नेता रावलले प्रचण्ड नेतृत्वको सरकारले नेपाली किसानको हितमा काम नगरेको बताएकाद हुन् । रासायनिक मल खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाउने सरकारको निर्णय गलत भएको उनको भनाइ छ ।  उनले नेपाल सरकारले मलमा दिने अनुदान कटौती गर्ने, भारतीय फलफूल तरकारीमा विषादी परीक्षण नगर्ने नीति के हो ? भन्दै प्रश्न गरेका छन्।

‘पूँजीवादी भनिने देशहरूले पनि कृषिलाई संरक्षण गरेको देखिन्छ। नेपाल सरकारले मलमा दिने अनुदान कटौती गर्ने, भारतीय फलफूल तरकारीमा विषादी परीक्षण नगर्ने र नेपाली किसानको तरकारी, माछा र केराले बजार नपाउने, चिया, अलैंची र अदुवा निर्वाध भारत निर्यात गर्न नपाइने के नीति हो रु सरकार जनताको होइन?’, रावलले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले रासायनिक मल खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाउने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् । लिङ्देनले पनि किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउन हठात् गरिएको निर्णयलाई गलत भनेका छन् ।

अध्यक्ष लिङ्देनले सुलभरुपमा मल आपूर्ति व्यवस्था मिलाउन र मल आपूर्ति समस्याको दीर्घकालीन समाधानका लागि देशभित्रै मल कारखाना स्थापना प्रक्रिया प्रारम्भ गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।