रामेछापको ल्याङ्गल्याङ्ग सिमान्ति टार गाउँमा भीषण आगलागी, १४ घर जलेर नष्ट

काठमाडौँ । रामेछाप नगरपालिका–९ को टार सिमन्ती भन्ने ठाउँमा आगलागी हुँदा १४ घर र १२ गोठ जलेर नष्ट भएका छन् ।

नेवार र तामाङ समुदायको बसोबास रहेको उक्त स्थानमा जंगलमा लागेको डढेलोका कारण भएको आगलागी बाट 
६० भन्दा बढी बाख्रा र ६ वटा गाईभैँसी मरेका छन् ।

आगलागीको खबर प्राप्त हुनासाथ रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेको नेतृत्वमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली आगो निभाउन घटनास्थल पुगेको थियो ।

अहिले आगो निभाइएको छ । क्षतिको पूर्ण विवरण प्राप्त हुन बाँकी रहेको प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले बताए । आगलागीबाट घरसँगै लत्ताकपडा र खाद्यान्नसहित सम्पूर्ण धनमाल जलेको छ ।

अग्नि पीडितलाई स्थानीय विद्यालयमा अस्थायी बसोबासको व्यवस्था गरिएको नगर प्रमुख लवश्री न्यौपानेले जानकारी दिए । उनीहरूलाई नेपाल रेडक्रस सोसाइटीलगायत सामाजिक संघसंस्थाको समन्वयमा राहत सामग्री प्रदान गरिने उनले बताए ।