चितवन-२ मा जनमोर्चाबाट जनकराज शर्मा उम्मेदवार

 काठमाण्डौँ - चितवन २ मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट जनकराज शर्मा उम्मेदवार बन्ने भएका छन् ।

जनमोर्चाको केन्द्रीय कमिटी बैठकले शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। उनी जनमोर्चाका उपाध्यक्ष हुन् ।

चितवन(२ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदै छ । गत मंसीर ४ गते भएको निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित रवि लामिछानेको सांसद पद खारेज भएपछि उपनिर्वाचत हुन लागेको हो ।

यससँगै जनमोर्चाले महासचिव मनोज भट्टको नेतृत्वमा निर्वाचन परिचालन समिति पनि गठन गरेको छ । २५ सदस्यीय निर्वाचन परिचालन समितिले उपनिर्वाचनमा व्यवस्थित रुपमा प्रचार प्रसार गर्ने जनाइएको छ ।

उपनिर्वाचनलाई भण्डाफोर अभियानका रुपमा सञ्चालन गर्ने जनमोर्चाले निर्णय गरेको छ । अमेरिकी प्रभाव र इशाइकरण बढ्दै गएको भन्दै जनमोर्चाले यसका विरुद्ध भण्डफोर अभियानका रुपमा चुनाव प्रचारप्रसारलाई अघि बढाउने जनाएको छ ।