राष्ट्रपतिद्धारा सरस्वतीपूजाको शुभकामना,मौलिक पर्वले नागरिकबीच एकता कायम राख्ने विश्वास व्यक्त 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरस्वतीपूजा जीवनलाई ऊर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्वका रूपमा रहेको बताएका छन्।

वसन्तपञ्चमीका अवसरमा शुभकामना सन्देश जारी गरी उनले विद्यासँगको नाता र ज्ञानको परिपूर्ति गर्न यो दिनले प्रेरणा दिने जनाएका हुन्। उनले यस्ता पर्वले नेपाली मौलिक संस्कृतिको संवर्धन गर्ने र नागरिकबीच एकता कायम राख्ने विश्वास व्यक्त गरेका छन्।

‘वसन्त पञ्चमी पर्वले मुलुकको सामाजिक तथा साँस्कृतिक विविधताबीच एकता कायम गरी मौलिक धार्मिक संस्कृतिको संरक्षण एवं संवर्धन गर्दै सबै नेपालीमा विद्याकी देवी सरस्वतीको कृपा रहिरहोस् भनी शुभकामना पनि व्यक्त गर्दछु’, उनको सन्देशमा उल्लेख छ।