आम नागरिकमा सरकारप्रति गुनासो बढ्यो : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आम नागरिकमा सरकारप्रति धेरै गुनासो रहेको बताएका छन् । आज यहाँ पत्रकारसँग उनले संवाद यात्राका क्रममा आफूले प्रत्यक्ष रुपमा नागरिकका गुनासा सुन्ने अवसर पाएको बताए ।

सुशासन, सेवा प्रवाहको सन्दर्भमा संविधान निर्माण लगायतका महत्वपूर्ण कुरा टुंगीसकेपछि महसुस गर्ने खालको परिवर्तन हुन्छ भन्ने लागेको हो त्यो प्राप्त गर्न नसकेकोमा जनताको गुनासो रहेको उनले बताए । 

महामन्त्री थापाले भने, “जुन कुरा सरकारले गर्न सक्ने कुरा छन् । सामान्य हिसाबले गर्न सकिने कुरा पनि नगरेको देख्दा त्यसबाट नैराश्यता सिर्जना भएको छ ।”

स्रोत साधनको अभावले गर्दा गर्न नसकेको ठूला कुरा स्वाभाविक भएको भन्दै उनले अहिले सबै खालको अनुकूलता भएको समयमा गर्न सकिने काम पनि नभएकामा नागरिकले गुनासो गरेको उनले सुनाए ।  

देशभरका महासमिति सदस्य केही अनुभव बोकेर काठमाडौं आउँदा महासमितिको बैठकमा यी विषष्मा छलफल हुने महामन्त्री थापाले बताए ।  निर्वाचनपछि गठवन्धन गर्दा राम्रो हुने भन्दै उनले निर्वाचन अघिको गठवन्धन उपयुक्त नहुने देखिएको टिप्पणी गरे ।