चितवन–२ उपनिर्वाचन : पुरानाकै चाहना बढ्दो !

चितवन - चितवन–२ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुने भएपछि यसअघि प्रतिस्पर्धामा रहेकाले पुनः उम्मेदवार हुने चाहना व्यक्त गरेका छन् । मुख्य तीन राजनीतिक दलका पुरानै उम्मेदवारले प्रतिस्पर्धा गर्ने चाहना व्यक्त गरेका हुन् ।

सो क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको नागरिकताका विषयमा सर्वोच्च अदालतले सांसद पद नरहने गरी निर्णय गरेपछि उपनिर्वाचन हुन लागेको हो ।

लामिछाने ४९ हजार तीन सय मत प्राप्त गरी विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार नौ सय ८८ मत प्राप्त गरेका थिए। उनलाई नेकपा माओवादी केन्द्र सहितको गठबन्धनको समर्थन थियो ।

यसैगरी नेकपा ९एमाले०का कृष्णभक्त पोखरेलले १४ हजार छ सय ५२ मत प्राप्त गरेका थिए। अन्य उम्मेदवारको मत एक हजारभन्दा कम थियो। सो क्षेत्रमा ८० हजार सात सय ५३ मत सदर भएको थियो ।

यसअघि निर्वाचित लामिछानेले पुनःआफ्नो उम्मेदवारी रहने बताउँदै आएका छन्। उनी निकट पत्रकार प्रकाश सिग्देलले भने, “पार्टीका सभापति रवि लामिछाने नै यस क्षेत्रको अबको उम्मेदवार हो ।”

आफू दोस्रो भएको भन्दै सांसद बनाउन निर्वाचन आयोग पुगेका श्रेष्ठले अबको उम्मेदवार पार्टीबाट आफू हुनुपर्ने बताएका छन्। उनले टेलिफोनमा भने, “म यसअघिको घाइते हो, अब म उम्मेदवार भएर जित्छु ।” यसअघिको निर्वाचनमा आफ्नै पार्टीबाट सहयोग नभएको उनको गुनासो थियो ।

नेकपा एमालेका तर्फबाट उम्मेदवार भएका पोखरेलले पनि पुनः उम्मेदवार बन्ने चाहना व्यक्त गरेका छन्। उनले भने, “पार्टीमा आफ्नो चाहना व्यक्त गर्नेछु।” दुई पटक सोही क्षेत्रबाट निर्वाचित भएकाले अरुलाई भन्दा आफूलाई सहज भएको उनको तर्क छ।

श्रेष्ठ र पोखरेललाई आफ्नो पार्टी र गठबन्धनका मतदाताले मत नदिएपछि अपेक्षा गरिएअनुसार मत नपाएको भन्दै पार्टीभित्र बहस हुँदै आएको छ।