बुढीगण्डकी आयोजना ठोस रुपमा अगाडि बढ्छ : उपप्रधानमन्त्री श्रेष्ठ

गोरखा - उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम ठोस रुपमा अगाडि बढ्ने बताएका छन् । जनयुद्ध दिवसको अवसरमा गोरखाको गण्डकी गाउँपालिकाले आयोजना गरेको नागरिक सम्मान कार्यक्रममा उनले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बुढीगण्डकी आयोजनाले अहिले पनि ठोस रुपमा गति लिन नसके आयोजना निर्माण काम धेरै पछाडि पर्ने बताए ।

“बुढीगण्डकी जलविद्युत् आयोजना हरहालतमा अगाडि बढाउँछौँ”, उपप्रधानमन्त्री श्रेष्ठले भने, “यसको निर्माण प्रक्रिया अगाडि बढ्छ, यो हाम्रो दृढता हो ।” उनले गोरखाको बेनिघाट लार्के सडकखण्डलाई बेनिघाट रोइला सडकको रुपमा परिवर्तन गरी निर्माण कार्य अगाडि बढाउने योजनामा सरकार रहेको उल्लेख गरे ।