चौधरी ग्रुपले सरकारलाई  तिर्‍यो १६ अर्ब १४ करोड रूपैयाँ कर

काठमाडौँ । चौधरी ग्रुपले आर्थिक बर्ष २०७९/०८० मा सरकारलाई १६ अर्ब १४ करोड रूपैयाँ कर तिरेको छ।  आईतबार कर तिरेको विज्ञप्ति गर्दै  व्यवसायिक ग्रुपबाट तिरेको करलाई एकमुष्ठ गणना गरी सरकारी स्तरबाटै सार्वजनिक गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ।

आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र प्रभावित रहेको समयमा पनि चौधरी ग्रुपले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान गरेको जनाएको छ। अघिल्लो आर्थिक बर्ष २०७८/०७९ मा ग्रुपले १७ अर्ब ७२ करोड रूपैयाँ कर तिरेको थियो ।  यद्यपि राष्ट्रिय अर्थतन्त्रमा आएको मन्दी र त्यसबाट व्यवसायिक कारोवारमा परेको असरका कारण अघिल्लो आर्थिक बर्षको तुलनामा चौधरी ग्रुपको राजश्वमा केही कमी आएको जानकारीसमेत कम्पनीले दिएको छ।

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले नेपालमा लगानीको वातावरणमा सुधार गरी लगानीकर्तालाई प्रोत्साहित गरेर मात्रै राजश्वको दायरा फराकिलो बनाउँदै लैजान सम्भव हुने भएकाले यसतर्फ सबैको ध्यान जानुपर्ने बताएका छन्।

गत पाँच वर्षमा चौधरी ग्रुपले सरकारलाई ७० अर्ब रुपैयाँ कर तिरेको छ। आर्थिक वर्ष २०७५/७६ मा ११ अर्ब ६७ करोड, २०७६/७७ मा ९ अर्ब ८७ करोड, २०७७/७८ मा १४ अर्ब २८ करोड, २०७८/७९ मा १७ अर्ब ७२ करोड र २०७९/८० मा १६ अर्ब १४ करोड कर तिरेको चौधरी ग्रुपका प्रवक्ता मधुसूदन पौडेल जानकारी दिएका छन।