कालापानीलाई बेस क्याम्प बनाउने तयारी 

काठमाण्डौँ - सैलुङ डाँडालाई पर्यटकीय स्थल बनाउन सैलुङ गाउँपालिका–८ मा अवस्थित कालापानीलाई बेस क्याम्प बनाउन लागिएको छ । 
समुद्र सतहदेखि तीन हजार मिटरमा उचाइमा रहेको शैलुङडाँडालाई पर्यटकहरू लक्षित गरी कालापानीलाई बेस क्याम्प बनाइन लागिएको गाउँपालिका अध्यक्ष रिमालबाबु श्रेष्ठले बताए । 

उनका अनुसार यो स्थान जिल्लाको अग्लो भू–भाग र पर्यटकीय स्थल समेत भएकाले पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । अझ पर्यटक भित्र्याउन यहाँ विभिन्न संरचनाहरू निर्माण गर्न लागिएको छ । पर्यटकहरूलाई सेवा सुविधाका लागि होटेल, गोलघरलगायतका संरचनाहरू निर्माणाधीन अवस्थामा रहेका छन् । केही समयमा नै यी संरचनाहरू सञ्चालनमा ल्याइने छन् । 

बागमती प्रदेशको साढे दुई करोड लगानीमा गोलघर निर्माण भइरहेको छ । तीन ढलानमा निर्माणाधीन गोलघरमा मिटिङ हलसहित १३ वटा कोठा रहेका गाउँपालिकाका इन्जिनियर कमल थापा मगरले जानकारी दिए ।