वाणिज्य बैंकहरुले गरे नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

काठमाडौँ । माघ महिनाको लागि  वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । माघ १ गतेदेखि लागु हुने गरि  २० वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

नयाँ ब्याजदरअनुसार अधिकांश वाणिज्य बैंकहरुले माघ महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् । कतिपय बैंकहरुले भने पुसको ब्याजदरलाई निरन्तरता दिएका छन् । १८ वाणिज्य बैंकले पुसको तुलनामा मंसिरमा निक्षेपको ब्याजदर घटाएका हुन् ।

बैंकहरुले अधिक तरलता भएर ३ प्रतिशत ब्याजदरमा नेपाल राष्ट्र बैंकमा निक्षेप राख्नुपर्ने तर कर्जाको माग तत्काल बढ्ने अवस्था नभएपछि निक्षेपको ब्याजदर घटाएर कोषको लागत घटाउने रणनीति लिएका छन् ।

राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर बढीमा ५ प्रतिशत भन्दा हुन नहुने व्यवस्था गरेको छ । यस्तै कल निक्षेपमा बचतको न्यूनतम ब्याजदरको ५० प्रतिशत मात्रै ब्याज दिन पाइने व्यवस्था छ । बैंकहरुलाई व्यक्तिगत मुद्दती निक्षेपको अधिकत ब्याजदर घटाएपछि मात्रै बचत र कल निक्षेपको ब्याजदर घटाउन सक्छन् ।

राष्ट्र बैंकले बैंकहरुलाई ब्याजदरमा उतारचढाव कम गर्न भन्दै ब्याजदर निर्धारण गर्ने आधारको रुपमा सोही वर्गको बैंकहहरुले अघिल्लो महिनाको अधिकतम ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशत मात्रै तलमाथि गर्नसक्ने व्यवस्था गरेको छ ।

यसरी ब्याजदर निर्धारण गर्दा कायम हुने अधिकतम र न्यूनतम ब्याजदर बीचको अन्तर उक्त निर्देशनले तोकेको सीमाभन्दा बढी हुन गएमा अधिकतम वा न्यूनतम मध्ये एक दर सोही कायम गरी अन्य दरहरु समायोजन गर्नुपर्ने व्यवस्था गरेको छ । सोही सीमाभित्र रहेर वाणिज्य बैंकहरुले माघको ब्याजदर प्रकशित गरेका हुन ।

कुन बैंकको ब्याज कति ? 

सञ्चालनमा रहेका २० मध्ये १८ वटा वाणिज्य बैंकले माघका लागि व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा घटाएका छन् । एनएमबी बैंक र एभरेष्ट बैंकले भने पुसको ब्याजदरलाई निरन्तरता दिएका छन् ।

माघको लागि मुद्दतीमा पैसा राख्दा सिटिजन्स बैंकले सबैभन्दा बढी ब्याज दिने भएको छ । सिटिजन्स बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ९.१५ प्रतिशत र संस्थागत तर्फ ६.११ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । त्यसैगरी धेरै ब्याज दिनेको दोस्रो नम्बरमा एनएमबि बैंक रहेको छ। यस बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा पैसा राख्दा ९ प्रतिशतसम्म ब्याज दिनेछ।

यस्तै एभरेष्ट बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८ प्रतिशत यथावत राख्दै अन्य व्याजदर प्रकाशित गरेको हो । ५ वर्षसम्मको व्यक्तिगत मुद्दती निक्षेपमा ८ प्रतिशत ब्याजदर पाइने बैंकले जनाएको छ ।

मुद्दतीमा पैसा राख्दा सबैभन्दा कम ब्याज दिने बैंक हो कृषि विकास बैंक। यस बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२६ प्रतिशत र संस्थागत निक्षेप राख्दा ५.७६ प्रतिशतसम्म ब्याज दिने जनाएको छ। कृषि विकास बैंक ले व्यक्तिगत मुद्दतीतर्फ १.७५२ प्रतिशत र संस्थागततर्फ १.२५२ प्रतिशतले ब्याजदर घटाएको छ। माघमा बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ७.२६ प्रतिशत र संस्थागततर्फ ५.७६ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ।

त्यसैगरी नेपाल बैंक, लक्ष्मी सनराइज बैंक र माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन् ।

प्रभु बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ८।०६ प्रतिशत र संस्थागततर्फ ६.०६ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन् ।

त्यस्तै प्राइम कमर्सियल बैंक, नबिल बैंक, सिद्धार्थ बैंक र ग्लोबल आइएमई बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ८.१ प्रतिशत र संस्थागत तर्फ ६.१ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन् ।

यता, एनआईसी एसिया बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ०.६० प्रतिशतले घटाएर अधिकतम ८.०६ प्रतिशत र संस्थागततर्फ ६.०६ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

त्यस्तै नेपाल इन्भेष्टमेन्टले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ८.६ प्रतिशत र संस्थागत तर्फ ६.६ प्रतिशतसम्म र नेपाल एसबिआई बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ८.२५ प्रतिशत र संस्थागत तर्फ ६.२५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ।

यस्तै स्टान्डर्ड चार्टर्ड बैंकले संस्थागत मुद्दतीमा सबैभन्दा कम ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। पुसको तुलनामा बैंकले व्यक्तिगततर्फ ०।४९ प्रतिशतले घटाएर ८.०७ प्रतिशत निर्धारण गरेको छ। 

यता राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ८.०७ प्रतिशत र संस्थागततर्फ ६.०७ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ।

यस्तै सानिमा बैंक र हिमालयन बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ८.१५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन्।

कुमारी बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ८.११ प्रतिशत र संस्थागततर्फ ६.११ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन्।