माघे संक्रान्तिका लागि कालीमाटीमा तरुल किन्नेको भीड

काठमाडौँ । माघे संक्रान्तिका लागि काठमाडौँको कालीमाटी तरकारी तथा फलफूल बजार र बल्खुको तरकारी बजारमा तरुल  किन्नेको भीड लागेको छ । 
काठमार्डौँका तरकारी बजारमा अहिले विभिन्न थरीका तरुल बिक्री वितरण भइरहेको छ ।

साथै नवलपरासी, मकवानपुर, धादिङ, सिन्धुली, गोरखा, पाल्पा, अर्घाखाँची, चितवन, काभ्रेपलाञ्चोक र नुवाकोटका तरुल पनि काठमाडौंमा माघे संक्रान्तिका लागि बिक्री हुने गर्दछन् ।

नेपाली किसानले धेरै थरीका तरुल खेती गर्दछन् । जसमध्ये घर तरुल, वन तरुल, हात्तीपाइले तरुल, सिमल तरुल, मुढे तरुल, पत्ताले तरुल अहिले बजारमा बिक्रीका लागि राखिएको देख्न सकिन्छ । माघे सक्रान्तिमा तरुलसँगै पिँडालु, सखरखण्ड पनि खाइन्छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज तरुल ६० देखि ७० रुपैँया प्रतिकेजी, पिँडालु ७० देखि ८० रुपैँया प्रतिकेजी र सखरखण्ड ७० देखि ८० रुपैँया प्रतिकेजीमा बिक्री भइरहेको छ ।