कार्यकाल नसकिँदै आयल निगमका कार्यकारी निर्देशक थानीद्धारा राजीनामा !

काठमाडौँ - नेपाल आयल निगमका कार्यकारी निर्देशक ई उमेशप्रसाद थानीले कार्यकाल नसकिंदै राजीनामा दिएका छन् ।
एक वर्ष तीन महिना कार्यकाल बाँकी छँदै कार्यकारी निर्देशक थानीले राजीनामा दिएका हुन् । थानीले राजीनामा दिएको उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले पुष्टी गरेका छन् ।

दुई वर्षअघि २०७८ फागुन २६ गतेको मन्त्रिपरिषद् बैठकमा उनी नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । उनी सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स सिडेनका निवर्तमान अध्यक्ष हुन् ।

सिडेन नेपाली कांग्रेस निकट इन्जिनियरहरूको संस्था हो । थानी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । आयल निगममा आउनुअघि उनलाई क्यानडाका लागि राजदूतको प्रस्ताव आएको बताइन्छ । तर, उक्त प्रस्ताव छाडेर थानी आयल निगम आएका थिए । उनलाई अहिले जापानका लागि नेपाली राजदूत वा राष्ट्रिय सभा सदस्यको प्रस्ताव भएको चर्चा छ ।