गृहमन्त्री नारायणकाजी श्रेष्ठ पछिल्लो समय के भन्छन् ? 

काठमाडौँ - उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर सरकार अगाडि बढिरहेको बताएका छन् ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत गृह मन्त्रालय शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै श्रेष्ठले सुशासनलाई आत्मसात् गरेर समृद्धि हासिल गर्ने लक्ष्यका साथ सरकार अघि बढेको र यसमा जनताको साथ प्राप्त भएको बताए ।

उनले सुशासनका लागि सरकारले गरेका कामबाट कुनै हालतमा बिश्राम नलिने स्पष्ट पारे । धनी र गरिब तथा सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानुन नहुने उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले निर्दोष कुनै पनि हालतमा नफसुन्, दोषी नछुटुन भन्ने मान्यताअनुसार सुशासनको अभियान अगाडि बढेको धारणा राखे ।