जिप दुर्घटना हुदाँ फरार भएका चालक पक्राउ

बैतडी - बैतडीमा भएको जिप दुर्घटनाका चालकलाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार राति खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झौलेक मोडमा से१ज ७६४ नंको जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको थियो । 

फरार भएका चालक बझाङको केदारस्युँका २७ वर्षीय अर्जुन बोहरालाई प्रहरीले ढोल्यामोडबाट पक्राउ गरेको प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । चालक बोहरामाथि सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ ।
दुर्घटनामा बझाङको केदारस्युँ गाउँपालिका–५ बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय वीरे धामीको मृत्यु भएको थियो । जिपमा सवार अन्य पाँच जनाले हामफालेर ज्यान जोगाएका थिए ।
 
दुर्घटनापछि क्षतिपूर्तिको मागसहित साहुलाई नियन्त्रणमा लिन र आवश्यक क्षतिपूर्ति दिन आन्दोलन गरेका थिए ।  केदारस्युँ गाउँपालिका क्षतिपूर्ति उपलब्ध गराउन सहमत भएको प्रहरीले जनाएको छ । भारतको पिथौरागढमा मजदुरी गरेर नयाँ वर्ष मनाउन फर्किरहेका उनीहरू दुर्घटनामा परेका थिए ।