'शान्ति सम्झौता र त्यसको हस्ताक्षरकर्तामाथि नकारात्मक सोच राख्नेहरू टिक्दैनन्' : प्रधानमन्त्री दाहाल 

काठमाडौँ - प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्राप्त उपलब्धिहरूलाई उल्ट्याउने प्रयासमा केही शक्तिहरू लागिरहेको बताएका छन् ।

सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित अखिल नेपाल शिक्षक सङ्गठनको अधिवेशनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । ‘नकारात्मक सोच राख्ने केही शान्ति सम्झौताको बलमा प्राप्त उपलब्धिहरू उल्ट्याउने कोसिसमा छन् । यस्ता क्रियाकलापहरूलाई परास्त गर्नका लागि हामी अग्रगमनकारीहरू एकठाउँ उभिनुपर्छ,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले बृहत् शान्ति सम्झौता र त्यसको हस्ताक्षरकर्तामाथि नकारात्मक सोच राख्नेहरू बढेको उल्लेख गर्दै त्यस्ता शक्तिहरू नटिक्ने चेतावनी दिए । ‘शान्ति सम्झौता र त्यसको हस्ताक्षरकर्तामाथि नकारात्मक सोच राखेर क्रियाकलाप गर्नेहरू धेरै टिक्दैनन्,’ उनले भने ।