लिग–२ मा नेपालको पीएनजीमाथि कीर्तिमानी जित !

काठमाडौँ - विश्वकप क्रिकेट लिग–२ मा नेपालले पपुवा न्युगिनी पीएनजीमाथि कीर्तिमानी जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले पीएनजीलाई ९ विकेटले पराजित गरेको हो ।
 
यससँगै नेपाल ३८ अंकसहित चौथो स्थानमा रहेको छ । अब नेपाल १ ले बाँकी १ खेल जितेमा शीर्ष ३ मा रहँदै विश्वकप छनोटमा स्थान पक्का गर्नेछ।

एक दिवसीयमा लक्ष्य पछ्याउने क्रममा नेपालले ९ विकेटको जित पहिलोपटक हासिल हो । यसअघि, घरेलु मैदानमा अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५.२ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो । ९६ रनको सामान्य लक्ष्य नेपालले ७.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालको लागि आसिफ शेखले अविजित ५३ र कुशल भूर्तेलले ३३ रनको योगदान गरे ।

आसिफले २१ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ५३ रन जोडे। कुशल मल्ल भने १२ रनमा अविजित रहे । पीएनजीको लागि च्याड सोपरले १ विकेट लिए । पहिले ब्याटिङ गरेको पीएनजी ३२ओभरमा ९५ रनमा अलआउट भयो । पीएनजीका कप्तान असाद भालाले २० र सेसे बाउले १८ रनको योगदान गरे । अन्यको ब्याटिङ उल्लेख्य रहेन ।