बुवाको हत्या गरेको आरोपमा छोरा र बुहारी पक्राउ

काठमाडौँ । नुवाकोटको किस्पाङ गाउँपालिका-५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या अभियोगमा उनका छोरा र बुहारी पक्राउ परेका छन् ।

५५  वर्षीय नेपालीको गत बिहीबार मध्यरातमा भएको हत्यामा संलग्न रहेको अभियोगमा मङ्गलबार उनका छोरा र बुहारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

डीएसपी खड्काका अनुसार पक्राउ पर्नेमा एक युवक र उनकी श्रीमती जमुना नेपाली रहेका छन् ।

‘बाबु छोराबीच यही फागुन २५ गते रातको समयमा घरायसी विषयमा भएको विवादमा १७ वर्षीय युवक र उनकी श्रीमतीले ‘ढोकामा लगाउने आग्लोले टाउकामा प्रहार गरी घाँटी थिचेर हत्या गरेको’ पाइएकाले पक्राउ गरिएको हो’, डीएसपी खड्काले भने ।

प्रहरीको प्रारम्भिक अुनसन्धानका क्रममा अभियुक्तहरूले आफूहरूले भनेका विषयमा बाबुबाट असहयोग हुने गरेकाले ‘हत्या गरेको’ भनेर स्वीकार गरेको पाइएको छ ।

ती युवकले दुई वर्षअघि जमुनासँग विवाह गरेका थिए । त्यसपश्चातदेखि नै बाबुसँग आफूहरूको विवाद उत्पन्न हुँदै आएको प्रहरीसमक्ष बयान दिएका छन् ।