सदनमार्फत रन्जिताको घोषणा : नागरिक उन्मुक्तिले प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ।

उक्त पार्टीकी अध्यक्ष एवं संसदीय दलकी नेतृ रन्जिता श्रेष्ठ चौधरीले बुधबार सदनमा संवोधन गर्दै प्रचण्डलाई विश्वासको मत दिने जानकारी गराईन्।

प्रतिनिधिसभामा चार सिट रहेको नागरिक उन्मुक्ति पार्टीमा प्रचण्डलाई मत दिने वा नदिने बारे विवाद भएको छ। रन्जिताका श्रीमानसमेत रहेका पार्टीका संरक्षक रेसम चौधरीले प्रचण्डलाई मत नदिने बताइरहँदा अध्यक्ष रन्जिताले मत दिने अडानमा थिइन्।

उनकै अडानअनुसार मत दिन आफ्ना सांसदलाई रन्जिताले ह्विपसमेत जारी गरेकी थिइन्। प्रचण्डले विश्वासको मत लिनुअघि रन्जिताले सदनको रोस्ट्रममै उभिएर मत दिने पक्षमा नागरिक उन्मुक्ति पार्टी रहेको जानकारी गराईन्।