दृढ इच्छाशक्तिका कारण सामन्तवादमाथि विजय हासिल गरेका थियौँ : प्रधानमन्त्री

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धमा ठुलो क्षति भए पनि दृढ इच्छाशक्तिका कारण सामन्तवादमाथि विजय हासिल गरेको बताएका छन् ।

मंगलबारदेखि काठमाडौँमा सुरु विधान सम्मेलनमा बोल्दै प्रचण्डले नेपालका उत्पीडित जाती, क्षेत्र, वर्ग, लिङ्ग, समुदायलाई पहिचान, अधिकार र आत्मसम्मान दिन सफल भएको बताए ।

उनले जनयुद्ध सुरु गर्नुअघि पृथ्वीनारायण शाहले अपनाएको फौजी तथा कार्यगत रणनीतिहरूको अध्ययन गरेर जनयुद्ध सुरु गरेको स्मरण गरेका छन् । नेपालमा विगतमा भएका सङ्घर्ष क्रान्तिको अध्ययनका आधारमा जनयुद्धलाई अघि बढाएको उल्लेख गरे ।

प्रचण्डले जनयुद्ध नेपालको एउटा महान्, ऐतिहासिक र दूरगामी रणनीतिक पहल रहेको र आगामी दिनमा पनि यसको महत्त्व रहिरहने बताए । सुरुमा यसको औचित्य, यसको ऐतिहासिक आवश्यकतालाई कैयौँ मानिसहरूले यसको अन्दाज गर्न नसकेको बताए ।

जनयुद्धलाई अपमान गर्ने, यसको तिथि मिति तोक्ने, ३ महिना, ६ महिना भन्दा बढी टिक्न सक्दैन भनेर त्यति बेलाका केही नेताहरूले बोल्ने गरेको उनले स्मरण गरे ।