जनयुद्ध स्वीकार नगर्ने प्रवृत्तिविरुद्ध भण्डाफोर अभियान चलाउँछौँ : नेता पुन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले माओवादी जनयुद्धको उपलब्धी उपभोग गरेर जनयुद्ध स्वीकार गर्न नसक्ने प्रवृत्तिकोविरुद्धमा भण्डाफोर अभियान चलाइने बताएका छन् ।

२९औं जनयुद्ध दिवसका अवसरमा मंलबार राजधानीमा आयोजित एक कार्यक्रमा पुनले अवसरवादी प्रवृत्तिका केही दल तथा राज्य सञ्चालनका महत्त्वपूर्ण भूमिकामा रहेकाहरू जनयुद्धबाट प्रत्यक्ष लाभ लिए पनि नियोजित रूपमा आफूहरूको आन्दोलनबारे जनतामा भ्रम फैलाउन उद्धत रहेको बताए ।

माओवादी जनयुद्धले नेपालको राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा आमूल परिवर्तन र जागरण ल्याएको भन्दै त्यसका परिणामहरू समाजमा विभिन्न रूपमा प्रकट भइरहेको उल्लेख गरे ।

पुनले आफूहरू जहिले पनि सत्यका आधारमा तथ्य खोज्ने मार्क्सवादी शैलीको पक्षमा रहेको भन्दै विरोधीका भ्रमहरू चिरेर इतिहासमा जनयुद्ध युगान्तकारी परिवर्तन ल्याउने आन्दोलन थियो भन्ने सत्य स्थापित गरेर छाड्न सफल हुने विश्वास व्यक्त गरे ।