पर्याप्त बजेट नहुँदा आयोजना तीव्र रूपमा अघि बढ्न सकेन : मन्त्री ज्वाला

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पर्याप्त बजेट नहुँदा आयोजना तीव्र रूपमा अघि बढ्न नसकेको बताए ।

शनिबार  चितवनमा पत्रकारसँग कुरा गर्दै उनले बजेटको अभाव र निर्माण व्यवसायीको ढिलाइले सडक निर्माण हुन नसकेको बताए । उनले भने, ‘रु ३७ अर्ब बजेट घटाइएको छ, बजेट घटेपछि स्वाभाविकरुपमा आयोजना प्रभावित भएका छन्।’ 

बजेटका विषयमा अर्थ मन्त्रालयसँग छलफल गर्दै देखिएका समस्या समाधान गर्दै मन्त्रालय अघि बढेको उनले बताए। त्यस्तै उनले पूर्वपश्चिम रेलमार्ग निर्माणका क्रममा जनताका गुनासो सम्बोधन गर्दै सरकार अघि बढ्ने बताए ।

पूर्वपश्चिम रेलमार्गाको रेखाङ्कनको विषयमा आफूहरु छलफलका क्रममा रहेको उनले बताए । उनले भने, ‘जनताको गुनासो सम्बोधन गरेर अघि बढ्छौं।’जनताको असन्तुष्टि गुनासाका विषयमा आफ्नो ध्यानाकर्षण भएको उनले बताए। जनप्रतिनिधि, दलका प्रतिनिधि र सरोकारवालाबीच आजै छलफल गरिने उनले बताए।