माघ १ गतेदेखि काठमाडौँमा मेलम्चिको पानी वितरण हुने, बिग्रिएको पाइपलाइन मर्मत गर्न निर्देशन

काठमाडौँ । आगामी माघ १ गतेदेखि काठमाडौँमा मेलम्चीको पानी वितरण हुने भएको छ । खानेपानीमन्त्री महिन्द्रराय यादवले लक्ष्यभन्दा पहिले नै  सुन्दरीजलमा पानी आइपुगेको भन्दै अब बाह्रै महिना काठमाडौँमा मेलम्चीको पानी वितरण हुने दाबी गरे ।

उनले काठमाडौँका विभिन्न ठाउँमा पानी विरतण हुने पाइप बिग्रिएकाले मर्मत गर्न र खानेपानी मिटर जडान गर्न निर्देशन दिँदै माघ १ गते बिहान ९ बजेदेखि काठमाडौँमा वितरण सुरु हुने बताए ।

मेलम्चीको पानी माघ १ गतेदेखि अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए । 

उनले भने, ‘सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको छ, खानेपानीको परिमाण मापन गरी क्रमिकरूपमा काठमाडौँका सबै क्षेत्रमा वितरण गरिने छ ।”

यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौँ ल्याउनेगरी भएको सहमतिअनुसार बुधबार साँझबाट सुन्दरीजलमा पानी आउन सुरु भएको सुन्दरीजल पानी प्रशोधन शाखाका प्रमुख दीपेश ढकालले जानकारी दिए ।