मन्त्रालयको संख्या घटाउन गृहमन्त्री श्रेष्ठको प्रस्ताव

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले  मन्त्रालयहरुको संख्या घटाउनुपर्ने बताएका छन् ।

शनिबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४३ औं वार्षिक साधारण सभामा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले मन्त्रालय थप्ने कुरामा अहिले जान नसकिने अडान राख्दै उनले बरु त्यसलाई घटाउनुपर्छ जस्तो आफूलाई लागेको बताए।

उनले हस्तकलासम्बन्धि छुट्टै विभाग स्थापना गरेर जाने कुरामा भने सरकार सकारात्मक रहेको बताए ।  उपप्रधानमन्त्री श्रेष्ठले सरकारले हस्तकला जस्तो तुलानात्मक लाभको क्षेत्रलाई प्राथमिकता दिएर मुलुकको आर्थिक विकासलाई तिव्रता दिन चाहेको बताए ।

श्रेष्ठले मुलुकको विकास र समृद्धिका लागि ठूला उद्योग स्थापना गरेर अघि बढ्न सकिने अवस्था तत्कालका लागि नरहेकाले पनि सरकारले तुलनात्मक लाभका क्षेत्रहरुको पहिचान गर्ने र त्यसलाई अघि बढाउने कामलाई प्राथमिकता दिएको बताए।

उनले हस्तकला क्षेत्रको विकासका लागि सोसम्बन्धि विश्वविद्यालय बनाउने विषयमा पनि सरकार सम्बन्धित पक्षसँग छलफल गरेर अघि बढ्न तयार रहेको बताए।