तरुलमा आत्मानिर्भर बन्दै नेपाल, स्वदेशकै उत्पादनले माग धान्ने भएपछि घट्यो आयात

काठमाडौँ । माघे संक्रान्तिमा बढी खपत हुने तरुलमा नेपाल आत्मनिर्भर बन्दै गएको छ ।स्वदेशकै उत्पादनले माग धान्न सक्ने अवस्थामा पुगेपछि आयात पनि घटेको व्यापारी बताउँछन् ।  माघे संक्रान्ति आउन केही दिन मात्रै बाँकी रहँदा अहिले दिनहुँ तरुलको माग बढिरहेको  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले बताए ।

पछिल्लो केही वर्षदेखि भारतबाट ४–५ मेट्रिक टन मात्रै आयात हुने गरेको थियो ।  अहिले हाम्रै आन्तरिक उत्पादनले पुगिरहेको छ । श्रेष्ठले भने । यही पुस १ गतेयताको तरुल आगमनको तथ्यांक हेर्दा यो कुरा पुष्टि गर्छ । यही पुस १ गते १९ हजार ५४३ किलोग्राम तरुल भित्रिएको थियो ।

पुस २६ गते भने उक्त परिणाममा ६४३ प्रतिशतले वृद्धि भएको छ । समितिका अनुसार उक्त दिन १ लाख ४५ हजार २२० किलोग्राम तरुल भित्रिएको छ ।  कालीमाटी बजारमा पुस १ गतेयता ८ लाख ७० हजार ४२ किलोग्राम तरुल भित्रिइसकेको छ । तरुलको आगमन पुस २८ र २९ गत अझै बढ्ने उनले बताए । ग्राहकले पनि नेपालमै उत्पादित तरुल रुचाउने गरेको व्यापारी बताउँछन् । 

कालीमाटी बजारमा  सर्लाहीपछि सुनसरी, धादिङ, मकवानपुर, चितवनमा लगायतका जिल्लाबाट तरुल भित्रने गरेको भएपनि  सर्लाहीबाट ६० देखि ७० प्रतिशत हिस्सा तरुल भित्रिने गरेको उनले बताए ।

समितिका अनुसार आज तरुलको थोक मूल्य किलोको ६० देखि ७० रुपैयाँसम्म छ । तरुलको मूल्य जात अनुसार फरक फरक पर्ने गरेको छ । कालीमाटीमा खुद्रामा तरुल विक्री गर्दै आएका रामलाल यादवले आफूले १५–१६ प्रकारका तरुल विक्री गर्ने गरेको बताए । जातअनुसार तरुलको खुद्रा मूल्य किलोको १०० रुपैयाँदेखि ४०० रुपैयाँसम्म पर्ने गरेको उनको भनाइ छ ।