रुकुम पश्चिममा २५ हजार लाभग्राही यकिन, विवरण संकलन अझै जारी

 काठमाण्डौँ - गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा २५ हजार लाभग्राहीको संख्या यकिन भएको छ । जिल्लाका छवटै पालिकामा ती लाभग्राहीको सङ्ख्या यकिन भएको हो । प्रभावित क्षेत्रमा क्षतिको विवरण संकलन गरेर २५ हजार लाभग्राहीको प्रहरी लागत तयार भएको र केही स्थानीय तहमा अझै संकलनको काम जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए ।

उनका अनुसार लाभग्राहीको विवरण संकलनको काम जारी रहेकाले जिल्लामा पाँच हजार लाभग्राही बढ्नसक्ने जनाइएको छ । हालसम्म आठबीसकोट, चौरजहारी र मुसीकोट नगरपालिका तथा त्रिवेणी, बाँफीकोट र सानीभेरी गाउँपालिकामा गरेर साढे १७ हजार लाभग्राहीलाई अस्थायी आवास निर्माण गर्नका लागि प्रतिघर रु २५ हजारका दरले रु ४३ करोड ७५ लाख रकम स्थानीय तह विपद् जोखिम न्यूनीकरण कोषमा पठाइसकिएको छ । अब सङ्घीय सरकारले पठाएको रु ५० करोडमा रु छ करोड २५ लाख रकम मौज्दात रहेको सहायक प्रजिअ बढुवालले जानकारी दिए ।