ह्वात्तै बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

काठमाडौँ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बिहीबार ७८.१७ अंकले बढेर बन्द भएको छ । यसअघिका लगातार ६ कारोबार दिन बजार घटेको थियो । सातौँ कारोबार दिन नेप्से उच्च अंकले बढेको हो ।

यस दिन नेप्से परिसूचक २.९९ प्रतिशतले बढेर २६८८.३८ विन्दुमा बन्द भएको छ । कारोबार रकममा पनि वृद्धि भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

आठ अर्ब १६ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार ६ अर्ब ८५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

२२९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १२ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर छ ।

विन नेपाल लघुवित्त वित्तीय संस्था, ग्रीन भेन्चर, इस्टर्न हाइड्रोपावर र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये १२ वटाको परिसूचक बढेको छ । म्युचुअल फन्ड समूहको परिसूचक ०.०९ प्रतिशतले घटेको छ ।