कांग्रेसको लेटरप्याड, झण्डा र चुनाव चिह्न अनधिकृत प्रयोगबारे केन्द्रीय समिति बैठकले के भन्यो ?

  • शनिबार १३ मंिर २०८३ ०६:०९ PM
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको नाम, लेटरप्याड, झण्डा, चुनाव चिह्न र अन्य आधिकारिक प्रतीकको अनधिकृत प्रयोग गरी गतिविधि सञ्चालन नगर्न सम्बन्धित व्यक्ति तथा समूहलाई चेतावनी दिएको छ। केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको नाम, लेटरप्याड, ब्यानर, चारतारे झण्डा तथा ‘रुख’ चुनाव चिह्नको अनधिकृत प्रयोग गरी भेला तथा महाधिवेशनका नाममा विभिन्न गतिविधि सञ्चालन भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैठकले यस्ता गतिविधिले पार्टीको वैधानिक पहिचान र संस्थागत मर्यादामा आँच पुर्‍याउनुका साथै आम नागरिक, पार्टीका सदस्य तथा शुभेच्छुकमा भ्रम सिर्जना गरेको निष्कर्ष निकालेको छ। कांग्रेसले नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र नियमावली, २०७४ अनुसार निर्वाचन आयोगमा दर्ता भएको राजनीतिक दलका रूपमा आफ्नो नाम, झण्डा, चुनाव चिह्न, छाप तथा केन्द्रीय कार्यालयको ठेगानासहितको विवरण आयोगमा अभिलेखीकृत रहेको जनाएको छ। बैठकले २०८२ पुस २७ देखि ३० गतेसम्म सम्पन्न केन्द्रीय विशेष महाधिवेशनको म्यान्डेट तथा पार्टी विधानको धारा ४३ ले निर्धारण गरेको समयावधिभित्र २०८३ असोज १६ देखि २३ गतेसम्म १५औँ नियमित महाधिवेशन सम्पन्न भएको जनाएको छ। उक्त महाधिवेशनबाट गगनकुमार थापाको सभापतित्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम केन्द्रीय कार्यसमितिमा भएको परिवर्तन तथा विधान संशोधनको विवरण निर्वाचन आयोगले २०८३ मंसिर ८ गते अद्यावधिक गरिसकेको बैठकको भनाइ छ। कांग्रेसले पार्टीको नाम, लेटरप्याड, झण्डा, चुनाव चिह्न, छाप तथा अन्य आधिकारिक प्रतीकको अनधिकृत प्रयोग गरी गतिविधि नगर्न र त्यस्ता गतिविधिलाई पार्टीको आधिकारिक गतिविधिका रूपमा प्रस्तुत वा प्रचारप्रसार नगर्न आग्रह गरेको छ। साथै, भ्रमपूर्ण गतिविधिमा विश्वास नगर्न र सहभागी नहुन पार्टीका सबै सदस्य, तहगत समिति तथा शुभेच्छुकलाई अपिल गरेको छ। आग्रह र अपिलका बाबजुद यस्ता गतिविधि सञ्चालन गर्ने, गराउने तथा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट तिनलाई पार्टीको आधिकारिक गतिविधिका रूपमा भ्रामक ढङ्गले प्रचारप्रसार गर्ने व्यक्ति वा समूहविरुद्ध पार्टी विधान र प्रचलित कानुनबमोजिम कारबाही तथा कानुनी प्रक्रिया अघि बढाउने निर्णय बैठकले गरेको छ। बैठकले कानुनबमोजिम दर्ता भएका राजनीतिक दलको नाम, झण्डा, चुनाव चिह्न तथा अन्य आधिकारिक प्रतीकको संरक्षण र तिनको अनधिकृत प्रयोग रोक्नु सम्बन्धित अधिकारप्राप्त निकायको कानुनी दायित्व भएको उल्लेख गरेको छ। निर्वाचन आयोगलगायत सम्बन्धित निकायले आफ्नो कानुनी दायित्व निर्वाह गर्दै कांग्रेसको वैधानिक पहिचानको संरक्षण गर्न र अनधिकृत गतिविधि रोक्न आवश्यक कदम चाल्ने अपेक्षासमेत बैठकले गरेको छ।