सुकुम्बासी र भूमिहीनका समस्या समाधान गर्न कांग्रेसले दियो स्थायी समाधानका सुत्र

  • शनिबार १३ मंिर २०८३ ०६:२७ PM
काठमाडौँ । नेपाली कांग्रेसले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिकको समस्या समाधानका लागि अध्यादेशको बाटो छाडेर संसद्‌बाट स्थायी कानुन निर्माण गर्न सरकारसँग माग गरेको छ। कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले भूमिहीन नागरिकको समस्या दीर्घकालीन रूपमा समाधान गर्न आफ्नो पहलमा तत्कालीन कृषि तथा प्राकृतिक स्रोत संसदीय समितिबाट अघि बढाइएको ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ पारित गरी स्थायी कानुनका रूपमा कार्यान्वयन गर्नुपर्ने निर्णय गरेको हो। कांग्रेसले भूमिहीन दलित, वास्तविक सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या जग्गा प्राप्ति वा सार्वजनिक जग्गा व्यवस्थापनसँग मात्र सम्बन्धित नभई भूमि अधिकार, सामाजिक न्याय, मानव अधिकार, नागरिक सम्मान, आर्थिक अवसर र राज्यको उत्तरदायित्वसँग जोडिएको विषय भएको जनाएको छ। बैठकले भूमिहीन नागरिकको समस्या समाधान गर्दा सम्मानपूर्वक बाँच्न पाउने हक, आवासको अधिकार र सामाजिक न्यायको संवैधानिक प्रत्याभूतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ।  वास्तविक भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासी र सार्वजनिक जग्गा अतिक्रमण गरी व्यक्तिगत वा व्यावसायिक लाभ लिने व्यक्तिबीच स्पष्ट पहिचान गरी फरक व्यवहार गर्नुपर्ने कांग्रेसको मान्यता छ। कांग्रेसले सार्वजनिक जग्गाको संरक्षण र नागरिकको आवास अधिकारबीच सन्तुलन कायम गर्दै कानुनसम्मत, न्यायोचित र मानवीय समाधान खोज्नुपर्ने जनाएको छ।  भूमि स्वामित्व वा आवासको व्यवस्था मात्र समस्याको पूर्ण समाधान नभएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, रोजगारी, सामाजिक सुरक्षा र आर्थिक अवसरको पहुँचसमेत सुनिश्चित गर्नुपर्ने निर्णयमा उल्लेख छ। बैठकले वर्तमान सरकार गठन भएलगत्तै काठमाडौँ उपत्यकालगायत विभिन्न स्थानमा सुकुम्बासी तथा अव्यवस्थित बसोबासी बस्ती हटाउँदा पर्याप्त पूर्वतयारी, वैकल्पिक आवास, कानुनी प्रक्रिया र पुनःस्थापनाको सुनिश्चितता नगरी बल प्रयोग गरिएको भन्दै आपत्ति जनाएको छ। बस्ती हटाउने क्रममा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य असहाय नागरिकले भोग्नुपरेको पीडा, होल्डिङ सेन्टरमा बस्नुपरेको अवस्था, आधारभूत सुविधाको अभाव तथा व्यवस्थापकीय कमजोरीबाट भएका मानवीय क्षति र आत्महत्या तथा मृत्युका घटनाप्रति कांग्रेसले दुःख व्यक्त गरेको छ। सार्वजनिक जग्गाको संरक्षण राज्यको दायित्व भए पनि त्यसका नाममा नागरिकको जीवन, आवास, जीविकोपार्जन र मानवीय मर्यादालाई उपेक्षा गर्न नहुने कांग्रेसको ठहर छ। कांग्रेसले विगतका आयोगले प्रक्रिया पूरा गरी वितरणका लागि तयार पारेका लालपुर्जा बाँडेर प्रचार गर्नु मात्र भूमिहीन समस्याको समाधान नभएको जनाएको छ। बाँकी रहेका भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि कानुनी अड्चन फुकाउन आवश्यक रहेको बैठकको निष्कर्ष छ। कांग्रेसले भूमिहीनका नाममा सार्वजनिक सम्पत्ति कब्जा गर्ने र गैरकानुनी रूपमा लाभ लिनेहरूलाई कारबाही गर्नुपर्ने तथा वास्तविक सुकुम्बासी र भूमिहीन दलितलाई आत्मसम्मानका साथ आवासको व्यवस्था गर्नुपर्ने जनाएको छ। नदी किनार, तालतलैया, बगर, वन क्षेत्र र सडकको मापदण्डभित्रका अतिक्रमण हटाउनुपर्ने तर वाग्मती र मनोहरा नदी किनारमा बसोबास गरिरहेका वास्तविक सुकुम्बासीको पहिचान गरी अन्यत्र स्थानान्तरण र पुनःस्थापना गर्नुपर्ने निर्णयमा उल्लेख छ। त्यस्तै, सर्वोच्च अदालतको आदेशबमोजिम हदबन्दीभन्दा बढी जग्गा राख्नेहरूको यकिन पहिचान गरी विवरण सार्वजनिक गर्न र कानुनविपरीत अतिक्रमण तथा कब्जामा रहेको वा हदबन्दीभन्दा बढी राखिएको जग्गा नेपाल सरकारका नाममा ल्याउन कांग्रेसले माग गरेको छ। त्यस्तो जग्गा वास्तविक भूमिहीनको व्यवस्थापनमा प्रयोग गर्नुपर्ने उसको भनाइ छ। अव्यवस्थित बसोबासीको यकिन पहिचान गरी नियमानुसार शुल्क लिएर व्यवस्थापन गर्नुपर्ने तथा वन क्षेत्र, निकुञ्ज र संवेदनशील क्षेत्रमा बसोबास गर्न दिन नहुने कांग्रेसको निर्णय छ। वन क्षेत्रका रूपमा अभिलेखीकृत जग्गा खाली भए पनि वन क्षेत्रकै रूपमा कायम राख्नुपर्ने बैठकले जनाएको छ। कांग्रेसका अनुसार भूमिहीनका समस्या समाधानका लागि चाल्नुपर्ने कदम:- १