काठमाडौँ । नेपाली कांग्रेसले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी आफ्ना प्रयासलाई संस्थागत र प्रभावकारी बनाउन ‘लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण प्रतिष्ठान’स्थापना गर्ने निर्णय गरेको छ। इन्स्टिच्युट फर जेन्डर इक्वालिटी, डिसएबिलिटी एन्ड सोसल इन्क्लुजन (आइजिइडिएसआई) नाम दिइएको उक्त प्रतिष्ठानले महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र लैङ्गिक हिंसाबाट प्रभावित व्यक्तिको सम्मान, सुरक्षा, न्याय तथा समानताको अधिकार सुनिश्चित गर्न पार्टीले अवलम्बन गर्नुपर्ने नीति, दृष्टिकोण र अडानबारे सुझाव दिनेछ। प्रतिष्ठानले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणका विषयमा अध्ययन तथा अनुसन्धान गरी तथ्य र प्रमाणमा आधारित नीति प्रस्ताव तयार गर्नेछ। साथै नीतिगत पैरवीका लागि आवश्यक सामग्री तथा साधन विकास गर्ने र पार्टीको आन्तरिक संरचना, नीति, निर्णय प्रक्रिया तथा सांगठनिक अभ्यासलाई लैङ्गिकमैत्री, अपाङ्गतामैत्री, समावेशी र समानतामूलक बनाउन पैरवी गर्नेछ। पार्टीभित्र हुने लैङ्गिक हिंसा, उत्पीडन तथा नीतिगत र व्यवहारगत विभेदसम्बन्धी गुनासोको संवेदनशील र गोप्य सुनुवाइ तथा अध्ययन गरी आवश्यक सुधार र कारबाहीका लागि सम्बन्धित निकायसमक्ष सिफारिस गर्ने जिम्मेवारी पनि प्रतिष्ठानलाई दिइने निर्णयमा उल्लेख छ। त्यस्तै, लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणका विषयमा पार्टीका विभिन्न तहमा प्रशिक्षण, क्षमता अभिवृद्धि तथा नेतृत्व विकासका कार्यक्रम सञ्चालन गर्नेछ। यस क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था, विज्ञ र सरोकारवालासँग संवाद, ज्ञान आदानप्रदान तथा सहकार्यसमेत गर्नेछ। कांग्रेसले पार्टीभित्र महिलाको समानुपातिक समावेशी सहभागिता, नेतृत्व विकास र निर्णय प्रक्रियामा अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्ने संस्थागत अभ्यासलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। बैठकले लैङ्गिक हिंसा कुनै व्यक्तिको निजी समस्या मात्र नभई सामाजिक न्याय, मानव अधिकार, लोकतन्त्र र सभ्य समाज निर्माणसँग जोडिएको सामाजिक तथा राष्ट्रिय मुद्दा भएको ठहर गरेको छ। कानुन निर्माणले मात्र हिंसा अन्त्य नहुने भन्दै यसको प्रभावकारी र निष्पक्ष कार्यान्वयन, सामाजिक सोच तथा व्यवहारमा परिवर्तन, राजनीतिक इच्छाशक्ति र पीडितप्रति संवेदनशील राज्य संयन्त्र आवश्यक रहेको कांग्रेसको निष्कर्ष छ। नेपाली महिलाको हक, अधिकार, समानता र सम्मानका लागि पार्टीले २००४ सालदेखि संस्थागत रूपमा संघर्ष गर्दै आएको उल्लेख गर्दै कांग्रेसले लोकतान्त्रिक आन्दोलनमा महिलाहरूको योगदानको स्मरण गरेको छ। यस क्रममा दिव्यादेवी कोइराला, शैलजा आचार्य, मङ्गलादेवी सिंह, द्वारिकादेवी ठकुरानी, नोना कोइराला, छायादेवी पराजुली, मीना पाण्डे र मैयाँदेवी श्रेष्ठलगायत महिला नेतृहरूको योगदानलाई अविस्मरणीय भनेको छ।