काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशीलगायत बाढी प्रभावित क्षेत्रमा पुनर्स्थापना र पुनर्निर्माणका काममा सरकारले हेलचक्र्याइँ गरेको आरोप लगाएको छ। भोटेकोशीमा बाढी गएको तीन महिनाभन्दा बढी समय बितिसक्दा पनि प्रभावित क्षेत्रमा पुनर्स्थापना र पुनर्निर्माणका लागि प्रभावकारी रणनीति, कार्यक्रम तथा कार्ययोजना नदेखिएको भन्दै कांग्रेसले सरकारको आलोचना गरेको हो। कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले राहत वितरण घोषणामा मात्र सीमित भएको, सङ्घीय सरकारको उपस्थिति प्रभावकारी नभएको र प्रभावित नागरिकले अझै राहत सामग्री तथा सहायता नपाएको जनाएको छ। गोदाममा राहत सामग्री थन्किएका बेला बाढी प्रभावितहरू चिसो त्रिपालमुनि बस्न बाध्य भएको, मृतक तथा बेपत्ताको वास्तविक तथ्याङ्क सङ्कलन हुन नसकेको र घोषणा गरिएका घरभाडा तथा राहत रकमसमेत पीडितसम्म नपुगेको बैठकको ठहर छ। बाढीका कारण प्रभावित साना तथा मझौला व्यवसायी, होटल र जलविद्युत् क्षेत्रको पुनर्स्थापनाका लागि नीतिगत सहुलियत, राहत तथा पुनर्निर्माणको खाका नआएको कांग्रेसले जनाएको छ। यसले बाढीअघि आर्थिक रूपमा चलायमान रहेको भोटेकोशी क्षेत्र दीर्घकालीन रूपमा शिथिल हुने जोखिम बढाएको र प्रभावित क्षेत्रका स्थानीय सरकारसँग पनि सरकारले सहकार्य तथा समन्वय नगरेको कांग्रेसको आरोप छ। कांग्रेसले भोटेकोशी, बुढीगण्डकी, कालीगण्डकी तथा पर्वतको जलजला क्षेत्रलगायत देशका विभिन्न बाढी प्रभावित क्षेत्रमा तत्काल पुनर्लाभ र पुनर्निर्माणका कार्यक्रम अघि बढाउन सरकारसँग माग गरेको छ। कांग्रेसले केरुङ भन्सारसम्मको सडकको मार्ग तथा रेखाङ्कन तत्काल पहिचान गरी जोखिमयुक्त क्षेत्रमा रहेका बस्तीका लागि वैकल्पिक जग्गा सुनिश्चित गर्नुपर्ने माग गरेको छ। बाढी प्रभावित परिवारलाई तत्काल सुरक्षित आश्रय र घरभाडा सहायता उपलब्ध गराउनुपर्ने तथा सरकारले जग्गा उपलब्ध गराउन नसके निजी जग्गा खरिद गरेर भए पनि व्यवस्था गर्नुपर्ने उसको माग छ। त्यस्तै, द्रुत आकलनबाट प्राप्त तथ्याङ्क र विपद्पछिको आवश्यकता आकलन (पीडीएनए) का आधारमा सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी प्रभावित क्षेत्रको एकीकृत पुनर्लाभ तथा पुनर्निर्माणको खाका र कार्यविधि बनाउनुपर्ने कांग्रेसको भनाइ छ। साना ऋणी, विस्थापित नागरिक तथा जलविद्युत् र पर्यटन क्षेत्रका व्यवसायीको क्षमता कायम रहने गरी राहत, अनुदान र सहुलियतपूर्ण ऋणको स्पष्ट व्यवस्था गर्न पनि माग गरिएको छ। पुनर्निर्माण र पुनर्वासका काममा प्रभावित समुदाय तथा स्थानीय सरोकारवालासँग अर्थपूर्ण संवाद र उनीहरूको सहभागिता सुनिश्चित गर्नुपर्ने कांग्रेसले जनाएको छ। बाढीपीडितको जीविकोपार्जनको सुरक्षा, मनोसामाजिक परामर्श तथा नदीजन्य सामग्रीको व्यवस्थित उपयोगमार्फत स्थानीय आयआर्जनका अवसर सिर्जना गर्ने नीति र कार्यक्रम ल्याउनुपर्ने उसको माग छ। कांग्रेसले सरकारले तदर्थवाद र प्रचारमुखी शैली त्यागेर स्पष्ट जिम्मेवारी, समयसीमा र स्रोतसहित पुनर्लाभ तथा पुनर्निर्माणका कार्यक्रम तत्काल कार्यान्वयन गर्नुपर्ने जनाएको छ। बैठकले बाढी प्रभावित क्षेत्रका सम्बन्धमा पार्टीका तर्फबाट समन्वय, सहजीकरण र आवश्यक कार्य गर्न केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य मोहन आचार्यको संयोजकत्वमा गठित समन्वय तथा सहजीकरण समितिलाई जिम्मेवारी दिएको छ। समितिमा बुढीगण्डकी, कालीगण्डकीलगायत प्रभावित क्षेत्रका सांसद, पार्टीका केन्द्रीय सदस्य र विज्ञसमेत समावेश गर्न बैठकले निर्णय गरेको छ।