काठमाडौं। अपाङ्गता भएका व्यक्तिको अधिकार, सम्मान, समानता र समावेशी सहभागिताको महत्त्वलाई उजागर गर्दै ३ डिसेम्बर २०२६ (२०८३ मंसिर १७ गते बिहीबार) का दिन ३५औँ अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाइने भएको छ। यस वर्ष दिवसका लागि अन्तर्राष्ट्रिय नारा “The CRPD at 20: Building on Progress, Advancing the Future” तय गरिएको छ। यसको नेपाली रूपान्तरण “२० वर्षे सिआरपिडी: प्रगतिको खोजाइ; समुन्नत भविष्यको रोजाइ” रहेको छ। त्यसैगरी, दिवसका अवसरमा नेपालका लागि राष्ट्रिय नारा “अपाङ्गता समावेशी, पहुँचयुक्त र समतामूलक नेपाल निर्माणको आधार: महासन्धि कार्यान्वयनमा सामूहिक प्रयास यसको पूर्वाधार” तय गरिएको छ। यस वर्षको अन्तर्राष्ट्रिय नाराले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि (सिआरपिडी) कार्यान्वयनका क्रममा हासिल भएका उपलब्धिलाई संस्थागत गर्दै आगामी दिनमा अधिकार, पहुँच र समानताका क्षेत्रमा थप प्रगति हासिल गर्नुपर्ने सन्देश दिएको छ। राष्ट्रिय नाराले अपाङ्गता समावेशी, पहुँचयुक्त र समतामूलक नेपाल निर्माणका लागि महासन्धिको प्रभावकारी कार्यान्वयन तथा सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको सन्देश दिएको छ।