काठमाडौँ। नेपाली कांग्रेसले सरकारका गतिविधिमाथि निरन्तर निगरानी, खबरदारी र सशक्त प्रतिरोध गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यसमितिको बैठकले सरकारका पछिल्ला गतिविधिप्रति गम्भीर आपत्ति जनाउँदै संविधान, लोकतन्त्र, विधिको शासन र जनजीविकाका सवालमा सरकारलाई जिम्मेवार बन्न आग्रह गरेको हो। बैठकका निर्णय सार्वजनिक गर्दै महामन्त्री प्रदीप पौडेलले बैठकले सरकारका गतिविधिबारे पार्टीको धारणा, प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण, बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना, भूमिहीन तथा सुकुम्बासी समस्या, पार्टीका आन्तरिक कार्यक्रम र संरचना तथा लैङ्गिक समानतासहित नौवटा निर्णय पारित गरेको जानकारी दिए। कांग्रेसले आफूलाई प्राप्त प्रतिपक्षीय जिम्मेवारीअनुसार रचनात्मक, जिम्मेवार र सशक्त भूमिका निर्वाह गर्ने जनाएको छ। सरकारका सकारात्मक काममा सहयोग गर्ने तर गलत निर्णय, शासकीय स्वेच्छाचारिता र जनहितविपरीतका गतिविधिविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको निर्णय छ। सरकारले संसद्, संसदीय समिति, राष्ट्रपति र संवैधानिक निकायको मर्यादा कायम नगरेको तथा अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको कांग्रेसको आरोप छ। प्रेस स्वतन्त्रता तथा भदौ २३ र २४ का घटनासँग जोडिएका संवेदनशील विषयमा पर्याप्त संसदीय छलफल र सार्वजनिक विमर्शबिना ल्याइएका अध्यादेश तत्काल फिर्ता लिन, संसद्को अधिवेशन आह्वान गर्न र संवैधानिक मर्यादा पालना गर्न कांग्रेसले सरकारसँग माग गरेको छ। त्यस्तै, सरकारको विरोधी भएकै कारण अपराध नगरेको व्यक्तिलाई अनुसन्धानमा तान्नु र सरकारसँग निकट भएकै कारण अपराधमा संलग्न व्यक्तिलाई संरक्षण दिनु राज्यशक्तिको दुरुपयोग भएको कांग्रेसको ठहर छ। सुनकोशी–मरिन आयोजनासँग सम्बन्धित प्रकरण तथा प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको जिम्मेवारीमा रहेका व्यक्तिसँग जोडिएको मोबाइल प्रकरणको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धान गर्न पनि कांग्रेसले माग गरेको छ। अर्थतन्त्र र जनजीविकाका सवालमा सरकार गम्भीर नभएको भन्दै कांग्रेसले महँगी नियन्त्रण, निजी क्षेत्रको आत्मविश्वास पुनर्स्थापना, पुँजीगत खर्च वृद्धि, साना तथा मझौला उद्यमीका समस्या समाधान र शिक्षा, स्वास्थ्य तथा रोजगारीका क्षेत्रमा सुधार गर्न माग गरेको छ। सरकारले सार्वजनिक गरेको सयदिने कार्ययोजनाको उपलब्धि, विभिन्न समुदाय तथा समूहसँग भएका सम्झौताको प्रगति र गठन गरिएका अध्ययन तथा छानबिन समितिका सार्वजनिक गर्न मिल्ने प्रतिवेदन सार्वजनिक गर्नसमेत माग गरेको छ। कांग्रेसले सरकारलाई आफ्ना गलत निर्णय र कार्यशैली सच्याउन, संवैधानिक मर्यादामा फर्कन, विधिको शासन सुनिश्चित गर्न तथा अर्थतन्त्र र जनजीविकाका सवालमा गम्भीर हुन ध्यानाकर्षण गराएको छ। यी विषय संसद्मा सशक्त रूपमा उठाउन संसदीय दललाई निर्देशन दिने निर्णयसमेत गरेको छ। भारत भ्रमणका उपलब्धिको स्वागत, सीमाको विषयमा प्रश्न बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई समग्रमा सकारात्मक रूपमा लिएको छ। भ्रमणका क्रममा उच्चस्तरीय संवादको वातावरण निर्माण हुनु, केही महत्त्वपूर्ण विषयमा सहमति जुट्नु र विगतका सहकार्यले निरन्तरता पाउनुलाई कांग्रेसले स्वागत गरेको छ। भैरहवा हुँदै प्रवेश गर्ने काठमाडौँ–भैरहवा–लखनऊ (बी३४५) हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्ने सहमति तथा भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीपछिको पुनर्निर्माण, प्रभावित नागरिकको पुनर्स्थापना, ऊर्जा तथा पूर्वाधार विकासका लागि भारतले घोषणा गरेको २४० अर्ब रुपैयाँ बराबरको विकास सहयोग प्याकेजलाई कांग्रेसले महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। उक्त प्याकेजमा ५६ अर्ब रुपैयाँ अनुदान र १८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण रहेको उल्लेख गरिएको छ। शिक्षा, प्रविधि, स्टार्टअप, नवप्रवर्तन, खेलकुद तथा जलवायु उत्थानशीलताका क्षेत्रमा सहकार्य विस्तार गर्ने पहललाई पनि कांग्रेसले सकारात्मक मानेको छ। तर, नेपाल–भारत सम्बन्धका संवेदनशील विषय, विशेषगरी सीमा समस्याले उच्चस्तरीय संवादमा अपेक्षित प्राथमिकता नपाएको भन्दै कांग्रेसले प्रश्न उठाएको छ। प्रधानमन्त्रीले विगतमा सीमाका विषयमा दिएका अभिव्यक्ति र भारत भ्रमणका क्रममा उक्त विषयलाई निर्णायक रूपमा नउठाएको अवस्थाबीच विरोधाभास देखिएको कांग्रेसको टिप्पणी छ। भ्रमणका क्रममा भएका सहमति कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना र समयसीमा सार्वजनिक गर्न तथा विकास सहयोगको पारदर्शी र परिणाममुखी उपयोग सुनिश्चित गर्न पनि कांग्रेसले सरकारसँग माग गरेको छ। बाढीपीडितको पुनर्स्थापनाका लागि तत्काल कदम चाल्न माग भोटेकोशी, बुढीगण्डकी र कालीगण्डकीलगायत बाढी प्रभावित क्षेत्रमा सरकारले प्रभावकारी पुनर्स्थापना र पुनर्निर्माणको योजना ल्याउन नसकेको कांग्रेसको आरोप छ। बाढीपीडितका लागि घोषणा गरिएको राहत रकम तथा घरभाडा सहायता नपुगेको, राहत सामग्री गोदाममै थन्किएको र प्रभावित नागरिक चिसोमा त्रिपालमुनि बस्न बाध्य भएको कांग्रेसले जनाएको छ। मृतक तथा बेपत्ताको वास्तविक तथ्याङ्कसमेत सङ्कलन हुन नसकेको भन्दै कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ। कांग्रेसले जोखिमयुक्त क्षेत्रका बस्ती पहिचान गरी वैकल्पिक जग्गाको व्यवस्था गर्न, विस्थापित परिवारलाई सुरक्षित आश्रय तथा घरभाडा सहायता उपलब्ध गराउन र संघ, प्रदेश तथा स्थानीय तहबीच समन्वय गरी एकीकृत पुनर्लाभ तथा पुनर्निर्माणको खाका बनाउन माग गरेको छ। त्यस्तै, साना ऋणी, विस्थापित नागरिक तथा जलविद्युत् र पर्यटन क्षेत्रका व्यवसायीका लागि राहत, अनुदान र सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नुपर्ने निर्णयमा उल्लेख छ। पुनर्निर्माणमा प्रभावित समुदाय र स्थानीय सरोकारवालाको सहभागिता सुनिश्चित गर्न पनि कांग्रेसले आग्रह गरेको छ। यस विषयमा समन्वय र सहजीकरण गर्न केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य मोहन आचार्यको संयोजकत्वमा गठित समितिमा बुढीगण्डकी, कालीगण्डकीलगायत प्रभावित क्षेत्रका सांसद, पार्टीका केन्द्रीय सदस्य र विज्ञलाई समेत समावेश गर्ने निर्णय बैठकले गरेको छ। सुकुम्बासी समस्या समाधानका लागि स्थायी कानुनको माग भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि दीर्घकालीन नीति र कानुनी व्यवस्था गर्नुपर्ने कांग्रेसको निर्णय छ। सरकारले पर्याप्त पूर्वतयारी, वैकल्पिक आवास, कानुनी प्रक्रिया र पुनर्स्थापनाको सुनिश्चितताबिना बस्ती हटाएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ। वास्तविक भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासी र सार्वजनिक जग्गा अतिक्रमण गरी व्यक्तिगत वा व्यावसायिक लाभ लिने व्यक्तिको अवस्था छुट्टाछुट्टै पहिचान गर्नुपर्ने कांग्रेसको धारणा छ। कांग्रेसले भूमिसम्बन्धी समस्या समाधानका लागि संसद्बाट स्थायी कानुन निर्माण गर्नुपर्नेमा जोड दिएको छ। यसअघि कृषि तथा प्राकृतिक स्रोत संसदीय समितिबाट अघि बढाइएको भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ पारित गरी कार्यान्वयन गर्नुपर्ने माग पनि गरेको छ। वास्तविक भूमिहीन तथा सुकुम्बासीलाई आवासको व्यवस्था गर्न, सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई कारबाही गर्न, हदबन्दीभन्दा बढी राखिएको जग्गाको विवरण सार्वजनिक गरी कानुनबमोजिम सरकारी स्वामित्वमा ल्याउन र अव्यवस्थित बसोबासको नियमानुसार व्यवस्थापन गर्न कांग्रेसले माग गरेको छ। त्यस्तै, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, रोजगारी र सामाजिक सुरक्षासहितको एकीकृत कार्यक्रम सञ्चालन गर्न तथा स्थानीय तह र प्रभावित समुदायको सहभागितामा समस्या समाधान गर्नुपर्ने निर्णयमा उल्लेख छ। ‘हामी तयार छौँ’ अभियानको अवधारणापत्र स्वीकृत बैठकले ‘हामी तयार छौँ’ अभियानको अवधारणापत्र स्वीकृत गरेको छ। त्यस्तै, पार्टीले आयोजना गर्ने सार्वजनिक कार्यक्रमलाई अनुशासित, समयबद्ध, मर्यादित, व्यवस्थित र प्रभावकारी बनाउन ‘नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ परिमार्जनसहित पारित गरेको छ। कार्यविधिलाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णयसमेत बैठकले गरेको छ। पार्टीको नाम, झण्डा र चुनाव चिह्न अनधिकृत प्रयोग नगर्न आग्रह बैठकले नेपाली कांग्रेसको नाम, लेटरप्याड, चारतारे झण्डा, चुनाव चिह्न रुख तथा अन्य आधिकारिक प्रतीक अनधिकृत रूपमा प्रयोग नगर्न सम्बन्धित व्यक्ति तथा समूहलाई आग्रह गरेको छ। पार्टीको १५औँ नियमित महाधिवेशनबाट गगनकुमार थापाको सभापतित्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको र निर्वाचन आयोगले मंसिर ८ गते त्यससम्बन्धी विवरण अद्यावधिक गरिसकेको निर्णयमा उल्लेख छ। पार्टीको नाम, झण्डा, चुनाव चिह्न तथा आधिकारिक प्रतीक प्रयोग गरी भेला वा महाधिवेशनका नाममा गतिविधि सञ्चालन नगर्न र त्यस्ता गतिविधिलाई पार्टीको आधिकारिक गतिविधिका रूपमा प्रचार नगर्न कांग्रेसले आग्रह गरेको छ। आग्रहविपरीत गतिविधि सञ्चालन गर्ने व्यक्ति तथा समूहविरुद्ध पार्टीको विधान र प्रचलित कानुनअनुसार कारबाही तथा कानुनी प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ। तीन केन्द्रीय समिति गठन गर्ने अधिकार सभापतिलाई बैठकले केन्द्रीय कार्यसम्पादन समिति, केन्द्रीय अनुशासन समिति र केन्द्रीय लेखा समिति गठन गर्ने अधिकार पार्टी सभापतिलाई प्रत्यायोजन गर्ने निर्णय गरेको छ। लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण प्रतिष्ठान गठन कांग्रेसले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानप्रति ऐक्यबद्धता जनाउँदै ‘लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण प्रतिष्ठान’ (आईजीईडीएसआई) गठन गर्ने निर्णय गरेको छ। प्रतिष्ठानले महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र लैङ्गिक हिंसाबाट प्रभावित व्यक्तिको सम्मान, सुरक्षा, न्याय तथा समानताको अधिकार सुनिश्चित गर्न पार्टीलाई नीतिगत सुझाव दिनेछ। त्यस्तै, लैङ्गिक समानता र सामाजिक समावेशीकरणका विषयमा अध्ययन तथा अनुसन्धान गर्ने, पार्टीका नीति र निर्णय प्रक्रियालाई समावेशी बनाउने, पार्टीभित्र हुने लैङ्गिक हिंसा तथा विभेदसम्बन्धी गुनासोको सुनुवाइ र अध्ययन गर्ने तथा प्रशिक्षण र नेतृत्व विकासका कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी प्रतिष्ठानलाई दिइएको छ। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई औपचारिक कार्यक्रममा सीमित नराखी देशका ६ हजार ७४३ वटै वडामा जनचेतना अभिवृद्धि, हिंसा रोकथाम, पीडितको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न पार्टीका सबै तहका संरचना, भ्रातृ तथा शुभेच्छुक संस्थालाई आवश्यक पहल गर्न बैठकले निर्देशन दिएको छ। पूर्ण पाठ पढ्नुहोस्-