कुवेतको एक आवासीय भवनमा आगलागी, ४० जनाको मृत्यु

काठमाडौँ । कुवेतको मङ्गाफ सहरमा रहेको एक आवासीय भवनमा आगलागी हुँदा ४० जनाको मृत्यु भएको छ । बुधबार बिहान एक बहुतले भवनमा आगलागी भएको हो ।

यो भवनमा अधिकांश प्रवासी मजदुरहरू बस्ने गरेको बताइएको छ । एक रिपोर्टका अनुसार मृत्यु हुनेमा ५ भारतीय नागरिक पनि छन् । भारतीय राजदूत पनि घटनास्थल पुगेको छ। भारतीय दूतावासले पीडित परिवारलाई सहयोग गर्न हेल्पलाइन नम्बर पनि जारी गरेको छ ।

कुवेतका गृहमन्त्री फहाद युसुफ अल सबाहले घटनास्थलको अवलोकन गरेका छन् । कुवेती सञ्चारमाध्यमका अनुसार उक्त भवनमा क्षमताभन्दा धेरै मानिस बस्दै आएका थिए ।

कुवेतको जनसङ्ख्याको दुई तिहाइ आप्रवासी कामदारहरू छन्। यो देश विशेषगरी निर्माण र स्वदेशी क्षेत्रमा विदेशी कामदारमा निर्भर छ । मानव अधिकार समूहहरूले कुवेतमा प्रवासीहरूको जीवनस्तरमाथि धेरै पटक प्रश्न उठाएका छन् ।