बंगलादेशले पाँच वर्ष नेपालबाट विद्युत खरिद गर्ने, सात अर्ब ३९ करोडको निर्यात हुने

 काठमाडौँ - बंगलादेशको सार्वजनिक खरिदसम्बन्धी मन्त्रिमण्डलीय समिति सीसीजीपीले ४० मेगावाट विद्युत् आयात गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ । मंगलबार बंगलादेश सचिवालयस्थित मन्त्रिपरिषद् विभागमा अर्थमन्त्री अब्दुल हसन मोहम्मद अलीको अध्यक्षतामा बसेको १५औं बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको हो ।

बैठकपछि मन्त्रिपरिषद् विभाग समन्वय र सुधारका सचिव मोहम्मद हुसेन खानले नेपालबाट ४० मेगावाट बिजुली आयात गर्नेसहित १५ वटा प्रस्ताव स्वीकृत गरेको पत्रकारहरूलाई जानकारी दिएका हुन् । ‘विद्युत् विभागको प्रस्तावपछि बंगलादेश पावर डेभलपमेन्ट बोर्ड बीपीडीबीले नेपालबाट ४० मेगावाट बिजुली आयात गर्नेछ,’ उनले भने, ‘एनटीपी विद्युत् व्यापार निगम एनभीभीएन नेपाल विद्युत् प्राधिकरण र बीपीडीबीबीच त्रिपक्षीय सम्झौता पछि मात्रै विद्युत् आयात सुरु हुनेछ ।’

प्रतियुनिट ८.१७ बंगलादेशी टाका ९ रुपैयाँ ३० पैसामा विद्युत् आयात गरिने बंगलादेशका सञ्चारमाध्यमले जनाएका छन् । भारतीय ग्रिड प्रयोग गरी नेपालबाट बिजुली आयात गर्नु पर्ने भएकाले भारतलाई प्रतियुनिट ०.०५९ रुपैयाँ व्यापारिक मार्जिन तिर्नुपर्ने खानले बताए । बंगलादेशले भारतलाई प्रसारण लाइन प्रयोगबापतको शुल्क तिर्नुपर्ने भए पनि मूल्य तय भइनसकेको उनले बताएका छन् ।