राप्रपाको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले भने-'नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुन्छ' 

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानूनी दायरामा ल्याइने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको ज्ञापनपत्र बुझ्दै उनले दोषीले छुट नपाओस् र निर्दोष नपरोस् भन्नेमा सरकार स्पष्ट रहेको बताए । 

प्रधानमन्त्री दाहालले यो प्रकरणमा भइरहेको छानबिनमा कुनै प्रभाव र दबाब पर्न नदिने प्रतिबद्धता पनि जनाए । उनले वर्तमान सरकार सुशासन, समृद्धि र संविधानको कार्यान्वयनमा पूर्ण प्रतिबद्धताका साथ लागिपरेको उल्लेख गर्दै कुनै पनि प्रभाव र दबाबलाई स्वीकार नगर्ने र पछि पनि नहट्ने बताए । 

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २०४६ सालपछिका राजनीतिक नेतृत्व र कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्नेलगायत माग समेटिएको ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाए ।