मधेशमा एमाले नेतृत्वमा नयाँ सरकार बनाउने तयारी

जनकपुर - मधेश प्रदेशमा सत्ता सहयात्री माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै जसपा नेपालका नेता सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ । यादव नेतृत्वको सरकारको विकल्पमा नयाँ सरकार बनाउने तयारी सुरु भएको छ ।

नयाँ सरकार बनाउन एमाले, माओवादी केन्द्र, जनमत पार्टी र लोसपाले छलफल थालेका छन् । दलहरूबीच जनमतलाई मुख्यमन्त्री दिन अनौपचारिक सहमति भइसकेको छ । त्यसमा संसदको ठूलो दल एमालेले जनमतलाई पहिलो पालो जनमतलाई नेतृत्व दिने र त्यसपछि आफूले नेतृत्व गर्ने गरी सहमति जनाएको छ । मधेश प्रदेशमा १०७ सांसद छन् । 

जसमध्ये लोसपा संसदीय दलका नेता अभिराम शर्मा निलम्बित छन् । उनीबाहेक लोसपाका ८, एमालेका २५, माओवादीका ९ र जनमतका १३ जोड्दा ५५ पुग्छ । तर सरकार बनाउन मात्र ५४ सांसद आवश्यक पर्छ ।