काठमाडौँ । सार्वजनिक यातायात क्षेत्रमा कार्यरत चालक, सहचालक तथा अन्य श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन यातायात व्यवस्था विभागले आग्रह गरेको छ । यातायात क्षेत्रको जोखिमपूर्ण कार्य प्रकृतिलाई ध्यानमा राख्दै श्रमिक र रोजगारदातालाई कोषमा आबद्ध भएर सामाजिक सुरक्षा सुविधाको लाभ लिन विभागले अनुरोध गरेको हो । नवौँ सामाजिक सुरक्षा दिवस २०८३ को अवसरमा शुक्रवार विज्ञप्ति जारी गर्दै विभागले यातायात क्षेत्रमा कार्यरत श्रमिकको पेसागत सुरक्षा, भविष्यको सुनिश्चितता तथा भइपरी आउने जोखिम न्यूनीकरणका लागि सामाजिक सुरक्षा कोष महत्त्वपूर्ण माध्यम भएको जनाएको छ । विभागका अनुसार कोषमा आबद्ध भएका यातायात श्रमिक तथा रोजगारदाताले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनाबाट लाभ लिन सक्छन् । औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत बिरामी पर्दा वा सुत्केरी अवस्थामा उपचार खर्चको व्यवस्था छ। त्यस्तै, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाले कार्यस्थल वा सवारी दुर्घटनामा परी घाइते भएकाको उपचार खर्च तथा अङ्गभङ्ग भई अशक्त भएमा आजीवन पेन्सनको व्यवस्था गर्छ । आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताको मृत्यु भएमा निजको पति वा पत्नीलाई आजीवन पेन्सन, सन्ततिलाई शैक्षिक वृत्ति तथा अन्तिम संस्कार खर्चको व्यवस्था गरिएको छ । वृद्धावस्था सुरक्षा योजनाले अवकाशपछिको जीवनयापनका लागि पेन्सन तथा अवकाश सुविधा उपलब्ध गराउँछ । विभागले आफ्नो नजिकको सामाजिक सुरक्षा कोषको कार्यालय, सम्बन्धित यातायात व्यवसायी महासङ्घ वा समिति अथवा अनलाइन प्रणालीमार्फत सूचीकृत भई आफू र आफ्नो परिवारको भविष्य सुरक्षित गर्न आग्रह गरेको छ । विभागका निर्देशक लोकनाथ भुसालले जारी गरेको विज्ञप्तिमा सामाजिक सुरक्षा दिवसका अवसरमा यातायात क्षेत्रसँग सम्बन्धित सरोकारवालालाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन अनुरोध गरिएको छ ।