करार कर्मचारी, राहत शिक्षक हुँदै प्रधानमन्त्री, मन्त्री र सांसद पनि सामाजिक सुरक्षा कोषमा जोडिँदै

  • शुक्रबार​ १२ मंिर २०८३ ०९:३९ PM
काठमाडौँ । सामाजिक सुरक्षा कोषमा ३३ लाखभन्दा बढी योगदानकर्ता सूचीकृत भएका छन् । कोषमा हालसम्म एक खर्ब ३३ अर्ब २६ करोड रुपैयाँभन्दा बढी योगदान रकम सङ्कलन भएको छ भने ३२ अर्ब २६ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी भइसकेको छ । सरकारले अब औपचारिक क्षेत्रका श्रमिकसँगै अनौपचारिक क्षेत्रका मजदुर, करार कर्मचारी, राहत शिक्षक र बाल विकास सहजकर्तालाई समेत सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउने योजना अघि सारेको छ । नवौँ सामाजिक सुरक्षा दिवस २०८३ का अवसरमा शुक्रवार काठमाडौँमा आयोजित समारोहमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सामाजिक सुरक्षा प्रणालीलाई सबै श्रमिकको पहुँचमा पुर्‍याउने सरकारको नीति र योजनाबारे जानकारी दिएकी हुन् । उनका अनुसार सामाजिक सुरक्षा कोषमा हालसम्म ३३ लाखभन्दा बढी योगदानकर्ता र करिब २४ हजार योगदानदाता सूचीकृत भएका छन् । कोषमा एक खर्ब ३३ अर्ब २६ करोड ३१ लाख ७२ हजार ४३८ रुपैयाँ योगदान रकम सङ्कलन भएको छ । त्यस्तै, ३२ अर्ब २६ करोड ४८ लाख ८० हजार ८२२ रुपैयाँ दाबी भुक्तानी भइसकेको छ । कोषबाट औपचारिक क्षेत्रमा काम गर्ने क्रममा ज्यान गुमाएका करिब एक हजार योगदानकर्ताका परिवारले मासिक पेन्सन तथा सन्तति वृत्ति पाइरहेका छन् । वैदेशिक रोजगारीका क्रममा दुर्घटनामा परेका दुई योगदानकर्ताका परिवारले पनि कोषबाट नियमित पेन्सन प्राप्त गरिरहेको मन्त्री बादीले बताइन् । उनले सामाजिक सुरक्षा कोषलाई कानुनी व्यवस्था वा आर्थिक कारोबारका रूपमा मात्र नभई कठिन परिस्थितिमा नागरिकलाई सहारा दिने र सम्मानपूर्वक बाँच्ने आधारका रूपमा व्याख्या गरिन् । बिरामी हुँदा उपचार, दुर्घटनामा राहत र परिवारका सदस्यको मृत्यु हुँदा आश्रित परिवारलाई आर्थिक सहारा प्रदान गर्नु सामाजिक सुरक्षा प्रणालीको महत्त्वपूर्ण उपलब्धि भएको उनको भनाइ थियो । अनौपचारिक क्षेत्रका श्रमिकलाई सरकारको सह-योगदान सरकारले सामाजिक सुरक्षा प्रणालीलाई औपचारिक क्षेत्रमा मात्र सीमित नराखी अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई समेत आबद्ध गराउने प्रयास अघि बढाएको छ । कार्यालयमा काम गर्ने कर्मचारीदेखि सडकमा श्रम गर्ने मजदुर, गिट्टी कुट्ने श्रमिकदेखि स्वरोजगार व्यक्तिसम्म सबैलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने सरकारको लक्ष्य रहेको मन्त्री बादीले बताइन् । आर्थिक तथा सामाजिक रूपमा कमजोर श्रमिकलाई कोषमा आबद्ध गराउन सङ्घीय सरकारले सह-योगदान गर्ने व्यवस्था अघि बढाएको छ । स्थानीय तहबाट सह-योगदानसहित कोषमा आबद्ध हुने श्रमिकका लागि हाल एक प्रतिशतले हुने रकम बराबरको सह–योगदान सङ्घीय सरकारले जम्मा गरिदिने आधार तयार गरिएको उनले जानकारी दिइन् । मन्त्री बादीले सामाजिक सुरक्षालाई रोजगारदाताका लागि अतिरिक्त आर्थिक भारका रूपमा नभई श्रमिकको क्षमता, उत्पादकत्व, श्रमको सम्मान र संस्थागत स्थायित्वमा गरिने लगानीका रूपमा बुझ्नुपर्ने बताइन् । सामाजिक सुरक्षामा आबद्ध श्रमिकले काममा विश्वास र आत्मविश्वास प्राप्त गर्ने तथा त्यसले उत्पादन र उत्पादकत्व अभिवृद्धिमा योगदान पुर्‍याउने उनको भनाइ छ । श्रमिकप्रतिको आर्थिक दायित्व व्यवस्थापन गर्न पनि सामाजिक सुरक्षा प्रणालीले रोजगारदातालाई सहयोग गर्ने उनले बताइन् । करार कर्मचारी, राहत शिक्षक र बाल विकास सहजकर्ता पनि जोडिने सरकारले आफ्नै मातहतमा कार्यरत तर सामाजिक सुरक्षा सुविधा प्राप्त नगरेका कर्मचारीलाई समेत कोषमा आबद्ध गराउने निर्णय गरेको छ । यसअन्तर्गत सङ्घीय सरकारका करारमा कार्यरत कर्मचारी, राहत शिक्षक र बाल विकास सहजकर्तालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन नीतिगत आधार तयार गरिएको मन्त्री बादीले जानकारी दिइन् । चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा कोषको खर्च शीर्षकमा एक अर्ब ८० करोड ६३ लाख रुपैयाँ विनियोजन गरिएको छ । सोही रकमबाट सङ्घीय सरकारअन्तर्गतका करार कर्मचारी, राहत शिक्षक र बाल विकास सहजकर्तालाई कोषमा समेट्ने प्रक्रिया अघि बढाइएको हो । प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी अस्थायी प्रकृतिका कर्मचारी तथा शिक्षकलाई पनि क्रमशः सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउने सरकारको योजना छ । सरकारले प्रधानमन्त्री, मन्त्री तथा सङ्घीय सांसदलाई समेत सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाएको छ । सामाजिक सुरक्षा सबैका लागि हो भन्ने मान्यतालाई व्यवहारमा रूपान्तरण गर्न राज्यको नेतृत्व तहबाटै आबद्धता र प्रतिबद्धता देखाउन खोजिएको मन्त्री बादीले बताइन् । त्यसै गरी सार्वजनिक खरिद प्रक्रियामा सामाजिक सुरक्षा कोषमा आबद्धतालाई अनिवार्य बनाउने व्यवस्था गरिएको छ । यसले सामाजिक सुरक्षालाई रोजगारी, श्रम बजार र सार्वजनिक नीतिसँग जोड्ने आधार तयार गर्ने सरकारको अपेक्षा छ । कोषको रकम उत्पादन र रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी गरिने मन्त्री बादीले सामाजिक सुरक्षा कोषमा सङ्कलित रकमलाई सुरक्षित र प्रतिफलयुक्त क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औँल्याइन् । कोषको रकमबाट आयको निरन्तरता सुनिश्चित गर्नुका साथै स्थानीय उत्पादन र रोजगारी सिर्जना गर्न सकिने क्षेत्रमा लगानीका आधार तयार गर्नुपर्ने उनको भनाइ छ । वित्तीय बजारमा लगानीका उपकरण सीमित रहेकाले नयाँ लगानी उपकरण जारी हुने आधार निर्माण गर्नु सबैको साझा जिम्मेवारी भएको उनले बताइन् । सामाजिक सुरक्षा प्रणालीलाई प्रभावकारी, विश्वसनीय र दिगो बनाउन कोषको संस्थागत क्षमता र संरचना सुदृढ गर्नुपर्नेमा पनि उनले जोड दिइन् । विभिन्न निकाय र कार्यक्रममार्फत छरिएर रहेका सामाजिक सुरक्षासम्बन्धी व्यवस्थालाई समन्वय र आबद्ध गरी एकीकृत सामाजिक सुरक्षा कोषको संस्थागत विकास गर्न सरकार क्रियाशील रहेको उनको भनाइ थियो । कोषको सञ्चालन समितिको संरचनालाई थप व्यवस्थित र सक्षम बनाउँदै वास्तविक श्रमिक तथा रोजगारदाताको प्रतिनिधित्व सुनिश्चित हुने गरी सुधार तथा व्यवस्थापनको काम अघि बढाइएको उनले जानकारी दिइन्। कोषको संरक्षण, पारदर्शिता, प्रभावकारी सञ्चालन र दीर्घकालीन वित्तीय दिगोपना सुनिश्चित गर्ने विषयमा सरकार गम्भीर रहेको उनको भनाइ छ । सामाजिक सुरक्षासम्बन्धी सेवा प्रवाहलाई सरल, सहज, विश्वसनीय, पारदर्शी र योगदानकर्तामैत्री बनाउन संस्थागत प्रक्रिया तथा प्रविधिमा सुधारलाई प्राथमिकता दिइएको उनले बताइन् । योगदानमा आधारित र गैरयोगदानमूलक प्रणालीलाई पूरक बनाउने नीति नेपालको संविधानले सामाजिक सुरक्षालाई नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । संविधानको धारा ४३ ले सामाजिक सुरक्षाको हक र धारा ३४ ले श्रमिकको सुरक्षित काम, उचित पारिश्रमिक, सुविधा तथा सामाजिक सुरक्षाको हक प्रत्याभूत गरेको छ । संविधानको यही व्यवस्थाअनुसार सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ र नियमावली, २०७५ लगायतका कानुनी व्यवस्थामार्फत योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्दै आएको छ । यसका साथै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला र बालबालिकालगायत लक्षित समूहलाई गैरयोगदानमूलक सामाजिक सुरक्षा प्रणालीमार्फत भत्ता प्रदान गरिँदै आएको छ । यसका लागि सरकारले वार्षिक एक खर्ब रुपैयाँभन्दा बढी खर्च गर्दै आएको मन्त्री बादीले बताइन् । राज्यको संरक्षण आवश्यक पर्ने अशक्त, असहाय र जोखिममा रहेका नागरिकलाई गैरयोगदानमूलक प्रणालीमार्फत संरक्षण प्रदान गर्ने तथा रोजगारी र योगदान गर्न सक्ने नागरिकलाई योगदानमा आधारित प्रणालीमा आबद्ध गराउँदै लैजाने सरकारको नीति छ । यी दुवै प्रणालीलाई एक अर्काका पूरकका रूपमा विकास गरी नागरिकको जीवनचक्रमा आधारित सुरक्षा सुनिश्चित गर्नु सरकारको उद्देश्य रहेको उनले स्पष्ट पारिन् । मन्त्री बादीले सामाजिक सुरक्षा कोषमा पेन्सन प्राप्त गर्न ६० वर्ष उमेर पुग्नुपर्ने व्यवस्थालाई आयको निरन्तरता र राज्यसँगको सम्बन्धसँग जोड्दै बेरोजगार सहायता योजना तथा औषधि उपचारजस्ता सुविधाको आधारका रूपमा समेत व्याख्या गरिन् । उनले कुनै नागरिकले तत्काल खल्तीमा पैसा नभएकै कारण शिक्षा र स्वास्थ्य उपचारबाट वञ्चित हुन नपर्ने, रोजगारी गुमाउँदा परिवार सङ्कटमा नपर्ने तथा अशक्तता वा वृद्धावस्थामा सम्मानपूर्वक जीवन बिताउन सक्ने समाज निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताइन् । यसका लागि सरकार, रोजगारदाता, श्रमिक सङ्गठन, ट्रेड युनियन, सेवा प्रदायक संस्था, वित्तीय संस्था, विकास साझेदार तथा सबै तहका सरकारी निकायबिच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो । ‘सामाजिक सुरक्षा कोषको आबद्धता: वर्तमान र भविष्यको सुरक्षा’ भन्ने नारासहित मनाइएको नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा मन्त्री बादीले सबै श्रमजीवी नागरिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन आह्वान गरिन् । सुरक्षित श्रमिक, सुरक्षित परिवार र सुरक्षित भविष्य निर्माणको अभियानलाई सफल बनाउन सरकार प्रतिबद्ध रहेको उनले बताइन् ।