पहरो फुटाउने फाइल नै गायव !

काठमाण्डौँ - विस्फोटक पदार्थको अभावमा पहाड फोर्न नसक्दा नारायणगढ–मुग्लिन सडकअन्तर्गतको तुइन खोलामाथिको पुल निर्माण कार्य लामो समयदेखि रोकिएको छ । पुलसँगै रहेको पहाड काट्न विस्फोट नै गर्नुपर्ने तर त्यसका लागि आवश्यक पर्ने बारुदको खरिद प्रक्रिया ढिला हुँदा समस्या भएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकृत कृष्ण आचार्यले जानकारी दिए । 

“मेसिनले पहाड काट्न नसकिने अवस्था भयो । त्यो चट्टान काट्न विस्फोट नै गराउनुपर्छ तर विस्फोटक पदार्थ लिन माग गरिएको अनुमतिको फाइल नै सदर भएको छैन,” उनले भने । नारायणगढ–मुग्लिन सडक दिउँसो ४ घण्टा रोकेरै मेसिनले चट्टान काट्न लाग्दा पनि नसकिएपछि बारुदको खोजी भएको हो । 

तुइन खोलासँगै रहेको ११ मिटर अग्लो र ४० मिटर चौडाइको चट्टान फुटाउन कम्तीमा पनि छदेखि सात टन बारुद आवश्यक पर्ने अनुमान गरिएको छ । कुनै पनि आयोजनामा विस्फोट गराउन आयोजनाको जिल्लास्थित सुरक्षा समितिको सिफारिसमा गृह र रक्षा मन्त्रालयको स्वीकृतिले मात्रै गर्न पाउने व्यवस्था छ । विस्फोटक पदार्थ आयातका लागि रक्षाले स्वीकृति दिँदा पनि नेपाली सेनाको अनुमति चाहिन्छ । सेनाकै प्रत्यक्ष निगरानीमा नै त्यो विस्फोटक पदार्थ आयात, ढुवानी, भण्डारण र विस्फोट गराउने व्यवस्था छ । भारतबाट बारुद आयातका लागि अनुमति माग भइगएको फाइल नै अहिले कहाँ छ भन्ने अन्योल छ ।  

यही प्रक्रियामा जिल्लाबाट छ महिनाअघि नै माग भएर गए पनि मन्त्रालयमै फाइल अड्किएको आचार्यको भनाइ छ । “मलाई लाग्छ फाइल अहिले रक्षा मन्त्रालयमा अड्किएको छ,” उनले भने । तर रक्षा मन्त्रालयका सहसचिव यज्ञप्रसाद ढुङ्गाना भने फाइल आफूहरूले गृहमा फिर्ता पठाइसकेको बताए । 

“हामीकोमा यति लामो समय फाइल नै बस्दैन । गृहबाट माग भई आएको थियो, नेपाली सेनाको राय लिएर हामीले तुरुन्तै गृहलाई अनुमतिका लागि पत्र पठाइसकेका हौँ,” उनले भने । तर गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले भने सो फाइल गृहमा नभएको बताए । “विस्फोटक पदार्थ खरिद गर्नेसम्बन्धी नारायणगढ–मुग्लिन सडक आयोजनाको फाइल अहिले गृहमा छैन ।

यसको गृहले गर्ने प्रक्रिया अगाडि बढिसकेको हुनुपर्छ,” उनले भने । नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारी देशैभरका आयोजनामा आवश्यक विस्फोटक पदार्थ खरिद प्रक्रिया अहिले ढिलै भएको बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।