हुंकार हुलाकी यात्रा सुरु, किसान र शैक्षिक क्षेत्रका समस्या पहिचान गर्ने लक्ष्य

  • शुक्रबार​ १२ मंिर २०८३ ०७:३५ PM
राजविराज। मधेशका विभिन्न सामाजिक, आर्थिक तथा शैक्षिक समस्याबारे नागरिकसँग संवाद गर्ने उद्देश्यले हुंकार मधेशले सप्तरीको राजविराजबाट ‘हुंकार हुलाकी यात्रा’ सुरु गरेको छ। शुक्रबार राजविराजस्थित शिव मन्दिरबाट सुरु भएको पहिलो चरणको यात्रा राजगढ गाउँपालिकाको नर्घो पुगेर किसानसँग संवाद गरिएको थियो। त्यसक्रममा किसानले सिँचाइ, मलखाद, बाली बिमा, कृषि उपजको मूल्य निर्धारण, कृषि शिक्षा, कृषि सडक तथा विद्युत् सुविधाको अभावलगायतका समस्या सुनाएका थिए। त्यसपछि यात्रा तिलाठीस्थित श्री पब्लिक माध्यमिक विद्यालय, लौनियाँ पुगेको थियो। त्यहाँ सामुदायिक विद्यालयको अवस्था, विद्यार्थी तथा शिक्षकका समस्या, पठनपाठन, पाठ्यक्रम र शिक्षा नीतिका विषयमा विशेष अन्तरक्रिया गरिएको थियो। यात्राका क्रममा राजविराजस्थित लालिगुँरास बोर्डिङ स्कुल पुगेर सरकारी र निजी विद्यालयबीचको भिन्नताबारे तुलनात्मक अध्ययनसमेत गरिएको थियो। अन्तरक्रियामा सामुदायिक विद्यालयमा सरसफाइको अभाव, प्रयोगात्मक शिक्षाका लागि पर्याप्त सुविधा नहुनु, भवन अभाव, विद्यार्थी नियमित विद्यालय नआउनु, शिक्षक समयमै उपस्थित नहुनु र अतिरिक्त क्रियाकलाप नहुनुजस्ता समस्या उठेका थिए। विद्यालय व्यवस्थापन समिति, अभिभावक र स्थानीय तहले विद्यालयप्रति पर्याप्त चासो र जिम्मेवारी नलिएको गुनासोसमेत सहभागीले गरेका थिए। निजी विद्यालयका प्रतिनिधिले शुल्कमा एकरूपता नहुनु, सरकारबाट अनुदान तथा सुविधा प्राप्त नहुनु, झोले विद्यालयको सङ्ख्या बढे पनि अनुगमन प्रभावकारी नहुनु, अभिभावकले समयमै शुल्क नतिर्नु र विद्यार्थीमा अनुशासनको समस्या रहेको बताएका थिए। अन्तरक्रियामा पाठ्यक्रम, शिक्षा नीति, शिक्षामा एकरूपता र ज्ञान प्रणालीमा परिवर्तन गर्नुपर्ने मागसमेत उठेको थियो। हुंकार मधेशले आफ्ना २३ सूत्रीय माग यसअघि नै प्रधानमन्त्रीसमक्ष बुझाइसकेको नेता केशवकुमार झाले जानकारी दिए।