रूसी सेनामा कार्यरत नेपालीलाई फिर्ता ल्याउने कुरा सहज छैन् : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौँ  । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रूसी सेनामा कार्यरत नेपालीलाई फिर्ता ल्याउने कुरा अझै सहज नभएको बताएका छन्।

रूस–युक्रेनबीच युद्ध जारी रहेका कारण रूसी सेनामा कार्यरत नेपालीलाई फिर्ता ल्याउने अझै जटिलता रहेको उनको स्पष्टीकरण थियो।

मंगलवार साँझ सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री श्रेष्ठले रूसी सेनामा कार्यरत नेपालीलाई फिर्ता पठाउन रूस सरकार राजी भएको जानकारी पनि त्यहाँस्थित नेपाली दूतावासमार्फत आफूले पाएको बताए।

नेपालस्थित रूसी राजदूतलाई बोलाएर सेनामा भर्ना भएका नेपालीलाई फर्काउने विषयमा निरन्तर संवाद गर्न आग्रह गरेको बताए।

उनले उनीहरूसँग गरिएको सम्झौता रद्द गर्न र फिर्ता पठाउने प्रक्रियाबारे जानकारी गराउन पनि नेपाल सरकारले रूस सरकारसँग अनुरोध गरेको बताए। त्यसैगरी उपप्रधानमन्त्री श्रेष्ठले युक्रेनको कब्जामा रहेका नेपाली नागरिकको रिहाइका लागि पनि रूस सरकारसँग आग्रह गरिएको बताए।

श्रेष्ठले भने, ‘हामीले रूस सरकारसँग लिखित रूपमै नेपाली नागरिकको सुरक्षा र फिर्ताका निम्ति, आवश्यक पत्राचार गरिसकेका छौं। तपाईंहरूलाई थाहा छ, रूस–युक्रेन युद्धले यो विषय धेरै पेचिलो पनि छ।’

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल सरकारले रूसी सेनामा रहेका ज्यान गुमाएका नेपालीको क्षतिपूर्तिको उचित व्यवस्था गर्न र त्यसको प्रक्रिया अघि बढाउन पनि रूस सरकारलाई ताकेता गरिरहेको बताए।