निर्वाचन आयोगलाई यादवको जवाफ- ‘राष्ट्रपति र उपराष्ट्रपति फरक लिंगको हुनुपर्ने व्यवस्था छैन’

काठमाडौँ - उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवले संविधानमा राष्ट्रपति र उपराष्ट्रपति फरक-फरक लिंगको हुनुपर्ने व्यवस्था नरहेको दाबी गर्दै निर्वाचन आयोगमा जवाफ बुझाएका छन् ।

उपराष्ट्रपतिमा आफ्नो उम्मेदवारीविरुद्ध परेका उजुरीको जवाफ यादवले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालय मार्फत आयोगलाई पत्र बुझाएका हुन् ।

यादवले आइतबार नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर लिखित जवाफ पेश गरे । उक्त अवसरमा उपराष्ट्रपतिकी उम्मेदवार प्रमिला कुमारी यादव, जसपा सांसद प्रदीप यादव लगायत पनि कार्यालय पुगेका थिए ।

जवाफमा उनले प्रतिनिधिसभाको सभामुख र उपसभामुखमा फरक लिंगको हुनुपर्ने स्पष्ट व्यवस्था भएको तर राष्ट्रपति र उपराष्ट्रपतिको हकमा भने त्यो व्यवस्था नरहेको उल्लेख गरेका छन् ।

संविधानको भावना र उद्देश्य अनुकूल विभिन्न समुदायको व्यक्ति राष्ट्रपतिमा र उपराष्ट्रपतिमा निर्वाचित हुने भनी समावेशी सिद्धान्तलाई अंगीकार गरिएको यादवको जवाफ छ ।