दाइजोमा सुनको सिक्रि नपाएपछि विवाह रद्द गरेका बेहुलासहित आठ जना पक्राउ

काठमाडौँ । दाइजोमा सुनको सिक्री नपाउँदा विवाह मण्डपमा विवाह अस्वीकार गरेको आरोपमा बेहुलासहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ ।

बेहुला बारा कलैया उपमहानगरपालिका–४ सिनेमा चोक बस्ने उमेश साहसहित आठजनालाई प्रहरीले पक्राउ गरेको हो ।वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर साहले दाइजोमा सुनको सिक्री नपाएपछि विवाह नै रद्द गरेका थिए।

पर्साको वीरगञ्ज महानगरपालिका–२४ रानीघाटका सुखल साहकी अन्दाजी २४ वर्षीय छोरी रमिता कुमारीको सोमबार राति बिहे थियो । साहले दाइजोमा नगद १२ लाख, मोटरसाइकल बापत ३ लाख २५ हजार, एक थान ल्यापटप र एक–एक थान सुनको अ‍ौ‌ठी र हनुमानको माला पाइसकेपछि पनि गए राति मण्डपमा सुनको सिक्री नपाएपछि बिहे नै रोकिदिएर जन्ती फिर्ता लगेका थिए । बेहुलाले जन्ती फर्काउन खोज्दा प्रहरी पुगेर बेहुलासहित ८ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

विवाद भएपछि गएर बेहुला पक्षका ८ जनालाई पक्राउ गरेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक धर्मजंग थिङ्ले जानकारी दिए । जन्तीलाई स्वागत गर्न पन्डालदेखि राम्रो खाना नास्ताको पनि व्यवस्था गरेको भए पनि लगभग ५० हजारको सिक्री नपाउँदा बेहुलाले मण्डपबाट भाग्न खोज्दा विवाद भएको थियो ।

अहिले पक्राउ परेकाहरुलाई श्रीपुर वडा कार्यालयमा राखिएको छ। मधेस प्रदेशमा बालविवाह र दाइजो प्रथाको बिगबिगी छ। दाइजोका कारण विवाह रोकिएको यो एउटा उदाहरण मात्र हो। दाइजो नदिएकै कारण विवाह रोकिने र विवाह भइसकेपछि पनि हत्या गरिने जस्तो जघन्य अपराध निरन्तर हुँदै आएका छन्।