स्ववियु निर्वाचन : उमेदवारको नामावलीमा आज दाबी विरोध, मतदान चैत ५ गते हुँदै 

 काठमाडौँ - त्रिभुवन विश्वविद्यालय त्रिविमा हुने स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन अन्तर्गत आज उमेदवारको नामावली उपर दाबी विरोध गर्न सकिनेछ । निर्वाचन कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म दाबी विरोधको समय तोकिएको छ ।

उमेदवारमाथिको दाबी विरोधमाथि छानबिन गरेपछि आज बेलुका ५ बजे नामावली प्रकाशन गर्ने कार्यतालिका छ । भोलि दिउँसो १ बजेसम्म उमेदवारले नामा फिर्ता लिने र भोलि दिउँसो २ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय तोकिएको छ । 

यसअघि शनिबार स्ववियु निर्वाचनका लागि देशभरका क्याम्पसमा उत्साहजनक रूपमा उमेदवारी भएको छ । छिटफुट क्याम्पसमा बाहेक देशभरि सबै क्याम्पसमा उमेदवारी दर्ता भएको छ । शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म स्ववियु निर्वाचनमा विद्यार्थी संगठनतर्फबाट उमेदवारले मनोनयन पत्र दर्ता गराएका हुन् । 

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने छन् । निर्वाचनमा २८ वर्षे उमेर हदबन्दी कायम गरिएको छ । प्रत्यक्ष तथा समानुपातिकतर्फका उमेदवार विसं २०५१ फागुन २८ गते जन्म मितिको र सोभन्दा पछि जन्मेका विद्यार्थीले उमेदवार बन्न पाउने छन् । 

स्ववियु निर्वाचन अन्तर्गत मतदान चैत ५ गते हुँदै छ । बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ । निर्वाचनमा देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा हुनेछ ।