बर्सेनि एक करोड २० लाख बालिकाको उमेर नपुग्दै विवाह

  • शुक्रबार​ १२ मंिर २०८३ ०९:०२ AM
काठमाडौँ। आज बालविवाह तथा जबरजस्ती विवाह अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवस हो। विश्वभर प्रत्येक वर्ष करिब एक करोड २० लाख बालिकाको १८ वर्ष उमेर नपुग्दै विवाह हुने गरेको तथ्य सार्वजनिक गर्दै संयुक्त राष्ट्रसङ्घले बालविवाह, कम उमेरमा गरिने विवाह तथा जबर्जस्ती विवाह अन्त्यका लागि विश्वव्यापी प्रयास तीव्र बनाउन आह्वान गरेको छ। बालविवाह, कम उमेर तथा जबर्जस्ती विवाह अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रसङ्घले यस्तो आह्वान गरेको हो। संयुक्त राष्ट्रसङ्घको महासभाले गत सेप्टेम्बर ४ मा प्रस्ताव पारित गरी प्रत्येक वर्ष नोभेम्बर २७ लाई यस दिवसका रूपमा मनाउने निर्णय गरेको हो। यस वर्ष पहिलोपटक यो दिवस मनाइँदैछ। राष्ट्रसङ्घका अनुसार सन् २०२६ सम्म विश्वमा जीवित रहेका करिब ६५ करोड महिला तथा बालिकाको विवाह १८ वर्ष उमेर नपुग्दै भएको थियो। विश्वभर प्रत्येक पाँचमध्ये एक बालिकाको बाल्यकालमै विवाह हुने गरेको छ। प्रत्येक तीन सेकेन्डमा एक बालिका बालविवाहको सिकार हुने गरेको तथ्याङ्कले देखाएको छ। राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गत अक्टोबर ११ मा मनाइएको अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा जारी सन्देशमा बालविवाहले लाखौँ बालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षामा गम्भीर असर पारिरहेको उल्लेख गरेका थिए। उनले बालविवाहको मूल कारण गरिबी रहेको र द्वन्द्व, जलवायुजन्य विपद् तथा विस्थापनका समयमा यसको जोखिम अझ बढ्ने बताएका थिए। बालिकालाई विद्यालयमा टिकाइराख्ने, परिवारको आर्थिक अवसर विस्तार गर्ने, सामाजिक तथा कानुनी संरक्षण बलियो बनाउने र विभेदकारी लैङ्गिक मान्यता अन्त्य गर्ने प्रयासबाट बालविवाह रोक्न सकिने उनको सन्देशमा उल्लेख छ। महासचिव गुटेरेसका अनुसार पछिल्लो २५ वर्षमा शिक्षा, सामाजिक संरक्षण तथा कानुनी सुधारका प्रयासबाट अनुमानित छ करोड ८० लाख बालविवाह रोक्न सफलता मिलेको छ। यद्यपि, अहिलेको प्रगतिको गतिले बालविवाह अन्त्य गर्न अझै शताब्दीयौँ लाग्ने उनले चेतावनी दिएका छन्। उनले सरकार, निजी क्षेत्र, नागरिक समाज तथा सामुदायिक नेतृत्वलाई बालिकाको अधिकार संरक्षणका लागि प्रभावकारी कार्यक्रम र लगानी बढाउन आह्वान गरेका थिए। यसैगरी, राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) का उपकार्यकारी निर्देशक टेड चाइबानले राष्ट्रसङ्घीय महासभाको ८१औँ अधिवेशनअन्तर्गत तेस्रो समितिमा बालविवाह अन्त्यका लागि सन् २०३० सम्मको लक्ष्य हासिल गर्न वर्तमान प्रयासको गति २० गुणा बढाउनुपर्नेमा जोड दिएका थिए। बालविवाह मानवअधिकारको उल्लङ्घन भएको उल्लेख गर्दै उनले विवाहको न्यूनतम उमेर १८ वर्ष निर्धारण गर्ने कानुनी व्यवस्था, त्यसको प्रभावकारी कार्यान्वयन, न्यायमा पहुँच र संरक्षण सेवाको सुनिश्चितता आवश्यक रहेको बताएका थिए। विवाह भइसकेका, गर्भवती तथा सन्तान भएका किशोरीलाई पनि शिक्षा निरन्तरता दिन वा पुनः विद्यालय फर्कन सहयोग गर्नुपर्ने र बालिकालाई आफ्ना जीवनसँग सम्बन्धित निर्णय तथा समाधान प्रक्रियामा सहभागी गराउनुपर्नेमा राष्ट्रसङ्घले जोड दिएको छ। राष्ट्रसङ्घका अनुसार विश्वमा बालविवाहको सबैभन्दा ठूलो भार दक्षिण एसियाले बेहोर्दै आएको छ। विश्वभर बालविवाहमा परेका महिला तथा बालिकामध्ये ४४ प्रतिशत अर्थात् करिब २८ करोड ५० लाख यस क्षेत्रमा रहेका छन्। त्यसपछि उपसहारा अफ्रिकामा १८ प्रतिशत अर्थात् करिब ११ करोड ५० लाख रहेका छन्। पछिल्लो एक दशकमा विश्वव्यापी बालविवाहको दर १५ प्रतिशतले घटेको छ। यसअघि २५ प्रतिशत महिला तथा बालिकाको १८ वर्ष नपुग्दै विवाह हुने गरेकामा अहिले यो अनुपात घटेर करिब २१ प्रतिशतमा झरेको छ। यस अवधिमा करिब दुई करोड ५० लाख बालविवाह रोक्न सफलता मिलेको राष्ट्रसङ्घले जनाएको छ। बालविवाहले बालिकाको शिक्षा प्राप्त गर्ने अवसर गुमाउनुका साथै आर्थिक आत्मनिर्भरता, स्वास्थ्य र व्यक्तिगत स्वतन्त्रतामा समेत प्रतिकूल असर पार्छ। यसले किशोरावस्थामै गर्भधारण, मातृस्वास्थ्यसम्बन्धी जोखिम, लैङ्गिक हिंसा तथा यौन शोषणको सम्भावना बढाउने राष्ट्रसङ्घले जनाएको छ। दिगो विकास लक्ष्यको लक्ष्य नं