सामाजिक सुरक्षा कोषमा योगदानकर्ता ३३ लाख नाघे, कोषमा एक खर्ब ३३ अर्ब २६ करोड सङ्कलन

  • शुक्रबार​ १२ मंिर २०८३ ०६:०० AM
काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा योजना औपचारिक रूपमा सुरु भएको आठ वर्ष पूरा भई शुक्रवार विभिन्न कार्यक्रमका साथ नवौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ । श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको संवैधानिक हक सुनिश्चित गर्दै उनीहरूको आर्थिक तथा सामाजिक जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित अघि बढिरहेको सामाजिक सुरक्षा कोषमा हालसम्म ३३ लाख चार हजार ८६ जना योगदानकर्ता आबद्ध भएका छन् । सामाजिक सुरक्षा कोषमा शुक्रवारसम्म उपलब्ध तथ्याङ्कअनुसार २४ हजार ६ रोजगारदाता सूचीकृत भएका छन् । कुल योगदानकर्तामध्ये औपचारिक क्षेत्रमा आठ लाख ४३६ जना, वैदेशिक रोजगारीमा सबैभन्दा बढी २५ लाख ८५२ जना, अनौपचारिक क्षेत्रमा एक हजार २१० जना र स्वरोजगार क्षेत्रमा एक हजार ५८८ जना योगदानकर्ता आबद्ध छन् । प्रदेशगत रूपमा औपचारिक क्षेत्रका योगदानकर्ता बागमतीमा सबैभन्दा बढी पाँच लाख ७७ हजार ८०० जना रहेका छन् । त्यसपछि कोसीमा ९३ हजार ३७३, लुम्बिनीमा ४१ हजार ९९८, मधेशमा ३८ हजार ६१०, गण्डकीमा ३७ हजार ९४१, सुदूरपश्चिममा ६ हजार १८० र कर्णालीमा चार हजार ५३४ जना योगदानकर्ता सूचीकृत छन् । एक खर्ब ३३ अर्ब २६ करोड सङ्कलन, २३ अर्ब २६ करोड भुक्तानी कोषमा हालसम्म योगदान रकम, अतिरिक्त योगदान र प्रतिफलसमेत गरी कुल एक खर्ब ३३ अर्ब २६ करोड रुपैयाँ सङ्कलन भएको छ । योजनाअनुसार योगदान सङ्कलनतर्फ वृद्ध अवस्था सुरक्षा योजनामा सबैभन्दा बढी एक खर्ब चार अर्ब दुई करोड ४० लाख ५५ हजार ५२२ रुपैयाँ ८६ पैसा जम्मा भएको छ ।  यस्तै, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा ६४ अर्ब २४ करोड ९८ लाख ६२ हजार ७७३ रुपैयाँ ४२ पैसा तथा दुर्घटना, अशक्तता र आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत ८१ अर्ब ८८ करोड १० लाख ४१ हजार ५७ रुपैयाँ ९६ पैसा सङ्कलन भएको छ ।  यसका अतिरिक्त अतिरिक्त योगदानबापत ५५ अर्ब १९ करोड १४ लाख १४ हजार ७१ रुपैयाँ ५१ पैसा र प्रतिफलबापत एक खर्ब १६ अर्ब ४३ करोड ३८ लाख ९५ हजार ४३ रुपैयाँ २८ पैसा सङ्कलन भएको छ । कोषबाट हालसम्म २३ अर्ब २६ करोड रुपैयाँ दाबी भुक्तानी भएको छ । विभिन्न योजनामा तीन लाख ३२ हजार ८७३ जनाले दाबी गरेकामा १५ लाख २१ हजार ९५९ पटक दाबी भुक्तानी गरिएको छ । योजनागत दाबी भुक्तानी रकमअन्तर्गत वृद्ध अवस्था सुरक्षा योजनामा १८ अर्ब ३९ करोड ७७ लाख १० हजार ७७० रुपैयाँ, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा चार अर्ब ११ करोड ३० लाख १७ हजार ९८ रुपैयाँ, दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा ३३ करोड ५५ लाख ८७ हजार ४१६ रुपैयाँ ७० पैसा र आश्रित परिवार सुरक्षा योजनामा ४१ करोड ८७ लाख ६५ हजार ५३६ रुपैयाँ ५० पैसा भुक्तानी भएको छ । सामाजिक सुरक्षा कोष (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६७ बमोजिम कोषको औपचारिक स्थापना २०७४ साउन २९ गते भएको हो । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ जारी २०७४ कात्तिक २५ गते भएको हो । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ कार्यान्वयनमा २०७५ मङ्सिर ११ गतेबाट आएको हो । उक्त ऐन कार्यान्वयनमा आएको दिनकै सम्झनामा सरकारले हरेक वर्ष मङ्सिर ११ गते सामाजिक सुरक्षा दिवस बनाउँदै आएको छ । सामाजिक सुरक्षा योजनाको औपचारिक शुभारम्भ भने २०७६ साउन एक गतेदेखि योगदान रकम सङ्कलन सुरु भएको हो । ऐनको दफा १० तथा सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ बमोजिम कोषले औषधि उपचार तथा स्वास्थ्य सुरक्षा, मातृत्व सुरक्षा, दुर्घटना सुरक्षा, अशक्तता सुरक्षा, वृद्ध अवस्था सुरक्षा, आश्रित परिवार सुरक्षा, बेरोजगार सहायता लगायतका योजना सञ्चालन गर्दै आएको छ । योगदानकर्तालाई गुणस्तरीय र प्रभावकारी स्वास्थ्य उपचारमा सहज पहुँच पुर्‍याउन कोषले देशभर १२३ वटा अस्पताल आबद्ध गरेको छ ।