काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले आफ्नो स्थापनाको ३०औँ वर्षगाँठका अवसरमा देशव्यापी रूपमा विभिन्न शैक्षिक, सिर्जनात्मक तथा खेलकुद कार्यक्रम आयोजना गर्ने भएको छ । ‘शिक्षाको लागि एकता, राष्ट्रनिर्माणमा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ हिसानले मंसिर ९, १० र ११ गते देशभर विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको हो । हिसानको स्थापना २०५३ साल मंसिर ११ गते भएको थियो । स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममार्फत तीन दशकदेखि नेपालको शैक्षिक तथा प्राज्ञिक क्षेत्रमा पुर्याएको योगदानको समीक्षा गर्नुका साथै आगामी शैक्षिक यात्राका प्राथमिकता सार्वजनिक गरिने हिसानले जनाएको छ । हिसानका केन्द्रीय अध्यक्ष युवराज शर्माले तीन दशकको अवधिमा संस्थाले नेपालको शिक्षा क्षेत्रको विकास र अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याएको बताए । गुणस्तरीय शिक्षा प्रदान गर्दै स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्ने तथा विदेशी विद्यार्थीलाई समेत आकर्षित गरेर नेपाललाई शैक्षिक गन्तव्यका रूपमा विकास गर्ने अभियानमा हिसान क्रियाशील रहेको उनको भनाइ छ । उनले निजी शिक्षा क्षेत्रले राज्यको शैक्षिक दायित्वको ठूलो भार कम गर्दै गुणस्तरीय शिक्षा र रोजगारी सिर्जनामा योगदान पुर्याएको दाबी गरे । पछिल्लो समय सामाजिक सञ्जालमा निजी शिक्षालय तथा शिक्षा क्षेत्रबारे भइरहेका टीकाटिप्पणीप्रति आपत्ति जनाउँदै अध्यक्ष शर्माले बिनाआधार र प्रमाण निजी शिक्षालयविरुद्ध भ्रम फैलाउने काम भइरहेको बताए । ‘निजी शिक्षा क्षेत्रले राज्यको ठूलो भार कम गर्दै गुणस्तरीय शिक्षा र रोजगारी सिर्जनामा ऐतिहासिक भूमिका खेलेको छ । सामाजिक सञ्जालमा केही व्यक्तिले बिनाआधार र प्रमाण गरेका त्यस्ता आरोपहरू पूर्णतः गलत र निराधार छन्’, उनले भने । निजी शिक्षा क्षेत्रबारे फैलाइएका भ्रमको पछाडि नलाग्न उनले आग्रह गरेका छन् । हिसानले निजी शिक्षामा गरिएको लगानीको सुरक्षा, निजी शिक्षामैत्री ऐन तथा कानुन निर्माण र नीतिगत सुधारका लागि निरन्तर पैरवी गर्दै आएको जनाएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत वातावरण संरक्षण, छात्रवृत्ति वितरण तथा प्राकृतिक प्रकोपका बेला राहत वितरणलगायतका काम पनि गर्दै आएको अध्यक्ष शर्माले बताए । मंसिर ११ गते विशेष समारोह हिसानको ३०औँ स्थापना दिवसको मुख्य समारोह मंसिर ११ गते बिहान ९ बजे काठमाडौंको गौशालास्थित बेस्ट वेस्टर्न प्लस होटलमा आयोजना हुनेछ । हिसानका अध्यक्ष युवराज शर्मा र महासचिव रामहरि सिलवालद्वारा जारी विज्ञप्तिअनुसार समारोहमा संस्थाका संस्थापक, पूर्वअध्यक्ष तथा विभिन्न विश्वविद्यालयका उपकुलपतिहरूलाई सम्मान गरिनेछ । कार्यक्रममा विद्यालय शिक्षा र उच्च शिक्षासम्बन्धी कार्यपत्र प्रस्तुतिका साथै शैक्षिक बहससमेत आयोजना गरिनेछ । सोही अवसरमा हिसानको स्मारिका र गीत सार्वजनिक गरिने तथा शैक्षिक प्रदर्शनीसमेत सञ्चालन गरिने कार्यक्रम तय भएको छ । तीन दशकको शैक्षिक यात्रा, उपलब्धि र आगामी कार्यदिशाबारे छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हिसानले जनाएको छ । १० हजारभन्दा बढी विद्यार्थी सहभागी हुने राष्ट्रिय ह्याकाथन स्थापना दिवसकै अवसरमा हिसानले ‘लेट्स लर्न’ ९ीभतकीभबचल० सँगको सहकार्यमा राष्ट्रियस्तरको विद्यार्थी ह्याकाथन आयोजना गर्ने घोषणा गरेको छ । ‘नेसनल स्टुडेन्ट्स ह्याकाथन–इनोभेट टुडे, ट्रान्सफर्म टुमरो’ नाम दिइएको उक्त कार्यक्रममा १० हजारभन्दा बढी युवा विद्यार्थीलाई जोड्ने लक्ष्य राखिएको छ । आगामी माघ ८, ९ र १० गते काठमाडौंमा आयोजना हुने ह्याकाथनको मुख्य विषयवस्तु जलवायु परिवर्तन रहेको छ । विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी प्रविधि, अनुसन्धान र उद्यमशीलतासँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको लेट्स लर्नका सहसंस्थापक खगेन्द्र आचार्यले जानकारी दिए। उनका अनुसार विद्यार्थीहरूमा रहेको सिर्जनशीलता, प्राविधिक ज्ञान र नवप्रवर्तन क्षमतालाई उपयोग गर्दै जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीहरूको व्यवारिक समाधान खोज्नु यस कार्यक्रमको उद्देश्य रहेको छ। ह्याकाथनमा विद्यालय र विश्वविद्यालय तहका विद्यार्थीलाई लक्षित गरी ‘हाई स्कुल ट्र्याक’ र ‘युनिभर्सिटी ट्र्याक’ गरी दुई विधामा प्रतिस्पर्धा गराइनेछ । विद्यार्थीले जलवायु परिवर्तनसँग सम्बन्धित समस्या पहिचान गरी प्रविधि र नवीन सोचका माध्यमबाट समाधानका उपाय प्रस्तुत गर्न सक्नेछन् । कार्यक्रमलाई ‘लर्न एन्ड अर्न’ अवधारणासँग जोडेर विद्यार्थीको सिर्जनशीलता, अनुसन्धान क्षमता र व्यावहारिक सीप विकास गर्ने लक्ष्य राखिएको छ । मुख्य प्रतिस्पर्धाअघि देशभरका ७५ भन्दा बढी कलेजमा प्रि–ह्याकाथन सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख छ । प्रतिस्पर्धामा उत्कृष्ट हुने परियोजनालाई नगद पुरस्कार प्रदान गर्नुका साथै स्टार्टअप इन्क्युबेसन, मेन्टरसिप र प्रारम्भिक लगानी ९सिड फन्डिङ० को अवसरसमेत उपलब्ध गराइने हिसानले जनाएको छ । यसबाट विद्यार्थीले आफ्नो सिर्जनात्मक अवधारणालाई व्यावहारिक परियोजना तथा उद्यममा रूपान्तरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । तेस्रो हिसान म्याराथनमा ६०० जनाको सहभागिता हिसानको ३०औँ स्थापना दिवसको मुख्य दिन मंसिर ११ गते काठमाडौं जिल्ला कार्यसमितिले ‘तेस्रो हिसान म्याराथन–२०२६’ आयोजना गर्ने भएको छ । ‘अनरिङ आवर पास्ट, रनिङ टुवार्ड्स आवर फ्युचर’ भन्ने नाराका साथ आयोजना हुने म्याराथन बिहान ६ः३० बजे थापाथलीस्थित ट्रेड टावरबाट सुरु हुनेछ । हिसान काठमाडौंका अध्यक्ष गोपीराज पराजुली र सहसचिव एवं कार्यक्रम संयोजक छवीलाल पाण्डेयद्वारा जारी विज्ञप्तिअनुसार करिब पाँच किलोमिटर दूरीको दौडमा हिसानका सदस्य संस्थामा अध्ययनरत करिब ५०० विद्यार्थी सहभागी हुनेछन् । त्यस्तै, करिब १०० जना कलेज प्रमुख, शिक्षाविद् तथा पत्रकारको सहभागिता रहने आयोजकले जनाएको छ । म्याराथन ट्रेड टावरबाट सुरु भई दशरथ रंगशाला, बागदरबार, रत्नपार्क, पुरानो बसपार्क र भद्रकाली हुँदै पुनः ट्रेड टावरमै पुगेर समापन हुनेछ । प्रतियोगितामा महिला र पुरुष दुवै विधामा प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कार प्रदान गरिनेछ । दुवै विधाका विजेताले क्रमशः १० हजार, पाँच हजार र तीन हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यसका अतिरिक्त विजेतालाई शिल्ड, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिने आयोजकले जनाएको छ । शैक्षिक बहस, विद्यार्थीको नवप्रवर्तन क्षमता विकास, खेलकुद र संस्थागत योगदानको सम्मानलाई एकसाथ जोडेर ३०औँ स्थापना दिवस मनाउन लागिएको हिसानले जनाएको छ ।