काठमाडौँ। बालबालिकाहरूले संविधान कार्यान्वयनको दशक बितिसक्दा पनि संविधानमा उल्लेख भएका कतिपय बालअधिकारका सवाल कार्यान्वयन नभएको भन्दै प्रश्न उठाएका छन् । संविधानले बालबालिकाको संरक्षण, शिक्षा, स्वास्थ्य र सहभागीताका विषयमा स्पष्ट व्यवस्था गरेपनि त्यसअनुसार राज्यका निकायहरूबाट कार्यसम्पादन नभएकोमा उनीहरूले प्रश्न गरे । बाल दुर्व्यवहारविरुद्धको विश्व दिवस र अन्तरराष्ट्रिय बाल अधिकार दिवसको सन्दर्भमा बिहीबार काठमाडौँमा भएको विपद्पश्चात् बालबालिकाको संरक्षण सवाल र सम्बोधन विषयक नीति संवादमा सहभागी बालबालिकाले सरकारका प्रतिनिधिहरूसमक्ष यस्तो सवाल उठाएका हुन्। उनीहरूले भर्खरै रसुवा, नुवाकोट, धादिङ र गोरखामा बाढीका कारण प्रभावित क्षेत्रका बालबालिका सबैभन्दा धेरै जोखिममा परेको भन्दै विपद्को सम्भावित जोखिमलाई ध्यानमा राखेर आवश्यक पूर्वतयारी गर्नुपर्नेमा जोड दिए। नीति संवादमा बोल्दै सरोकारवालाले विपद् र विपद्पछि प्रभावित क्षेत्रमा बालबालिकाको उद्धार, संरक्षण, शिक्षा, स्वास्थ्य, मनोसामाजिक सहयोग तथा दीर्घकालीन पुनःस्थापनाका लागि प्रभावकारी पहल लिनुपर्ने अवस्था रहेको आवश्यकता औँल्याए । राष्ट्रिय बाल संरक्षण सञ्जाल नेपाल (एनसीपीए)को आयोजनामा तथा सिविस (CWISH) लगायत ३० भन्दा बढी राष्ट्रियस्तरका नागरिक समाजका संस्थाहरूको सहकार्यमा भएको कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको संरक्षण तथा उद्धारका लागि सरकारले गरेका काम र प्रयासबारे प्रस्तुती गरे । उनले विपद्पछिको अवस्थामा बालबालिकाको सुरक्षा, संरक्षण र आवश्यक सहयोगका लागि सरकारी पक्षबाट भएका पहल तथा कार्यबारे जानकारी गराएका थिए। त्यस्तै, बाल अधिकार विज्ञ मिलन धरेलले विपद्पछि बालबालिकाको अवस्था र गर्नुपर्ने कामहरुको विषयमा प्रस्तुतीकरण गरेका थिए। धरेलले बालबालिकाका समस्या र आवश्यकतालाई एउटै दृष्टिकोणबाट मात्र हेर्न नहुनेमा जोड दिए। जात, लिङ्ग, आर्थिक अवस्था तथा सामाजिक पहिचानका आधारमा विभेद भोगिरहेका बालबालिका विपद्का समयमा थप जोखिममा पर्ने भएकाले उनीहरूको अवस्थालाई बहुआयामिक दृष्टिकोणबाट बुझ्नुपर्ने उनको भनाइ थियो। प्रस्तुतीकरणपछि ‘विपद्पश्चात् बालबालिकाको संरक्षणका सवाल र सम्बोधन’विषयक प्यानल छलफल भएको थियो। उक्त छलफलमा संघीय संसद् सचिवालयका सचिव डा