काठमाडौँ। राउटे समुदायको मौलिक भाषा, संस्कृति, परम्परा, ज्ञान, सीप तथा कलाको पहिचान र संरक्षण गर्दै उनीहरूको चाहना र आवश्यकताअनुसार जीवनस्तर सुधार गर्न सरकारले विशेष कार्यक्रम अघि बढाउने तयारी गरेको छ। समुदायको वास्तविक अवस्था, आवश्यकता र प्राथमिकता पहिचान गरी आवास, शिक्षा, स्वास्थ्य, सीप विकास, रोजगारी तथा आर्थिक आत्मनिर्भरताका अवसर विस्तार गर्न विशेष अध्ययन कार्यदल गठन गर्ने पहलसमेत अघि बढाइएको छ। मंसिर ६ गते साँझ काठमाडौँको सुकेधारामा राउटे समुदायका सदस्यहरूसँग भएको भेटघाटका क्रममा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले उनीहरूलाई मन्त्रालयमा आउन निमन्त्रणा गरेकी थिइन्। सोही निमन्त्रणाअनुसार समुदायका दुई युवा र दुई बालिका सोमबार सिंहदरबारस्थित मन्त्रालय पुगेका थिए। मन्त्री बादीले आफ्नै कार्यकक्षमा उनीहरूसँग भेटघाट तथा छलफल गरिन्। मन्त्री बादीले समुदायका सदस्यहरूसँगै दिउँसोको खाना खाँदै उनीहरूकै रुचि र रोजाइअनुसार परिकारको व्यवस्था गरेकी थिइन्। सो क्रममा उनीहरूको व्यक्तिगत चाहना, जीवनशैली, आवश्यकता र भविष्यका योजनाबारे जानकारी लिएकी थिइन्। उपहार प्रदान गर्दै उनले समुदायका सदस्यहरूको भावना र इच्छालाई नजिकबाट बुझ्ने प्रयाससमेत गरिन्। राउटेको आवाज सिंहदरबारसम्म, विभिन्न मन्त्रीसँग प्रत्यक्ष भेट राउटे समुदायका समस्या र आवश्यकताबारे सम्बन्धित मन्त्रालयका मन्त्रीहरूलाई प्रत्यक्ष जानकारी गराई समाधानका लागि समन्वय जुटाउने उद्देश्यले मन्त्री बादीले समुदायका सदस्यहरूलाई साथमा लिएर विभिन्न मन्त्रीसँग भेट गराएकी थिइन्। समुदायका सदस्यहरूकै उपस्थितिमा उनीहरूका समस्या र आवश्यकताबारे सम्बन्धित मन्त्रीहरूलाई जानकारी गराउँदै आवश्यक पहलका लागि आग्रह गरेकी थिइन्। कार्यवाहक प्रधानमन्त्रीसँग समग्र विकासका विषयमा छलफल मन्त्री बादीले कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग राउटे समुदायको वर्तमान अवस्था, उनीहरूले भोगिरहेका समस्या र दीर्घकालीन विकासका सम्भावनाबारे छलफल गरेकी थिइन्। सो क्रममा समुदायको भाषा, संस्कृति र मौलिक पहिचान सुरक्षित राख्दै जीवनस्तर सुधार गर्न आवश्यक सरकारी पहल तथा विभिन्न मन्त्रालयबीचको समन्वयका विषयमा ध्यानाकर्षण गराएकी थिइन्। परम्परागत सीप र कलाको संरक्षण तथा बजारीकरणमा जोड कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीसँगको भेटमा राउटे समुदायको परम्परागत सीप, काठका सामग्री निर्माण गर्ने कला तथा त्यसको संरक्षण र प्रवर्द्धनका विषयमा छलफल भएको थियो। समुदायको परम्परागत ज्ञान र सीपको पहिचान गर्दै उनीहरूले उत्पादन गर्ने सामग्रीको प्रचारप्रसार, बजार विस्तार र बजारीकरणमा सहयोग पुर्याउने सम्भावनाबारे कुराकानी भएको थियो। साथै, समुदायको रुचि र जीवनपद्धतिअनुसार बाख्रापालन, कुखुरापालनलगायत वैकल्पिक जीविकोपार्जनका अवसर पहिचान गर्ने विषयसमेत उठाइएको थियो। आवास व्यवस्थापन र स्थानीय तहसँगको समन्वयमा पहल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री तथा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलसँगको भेटमा राउटे समुदायको बसोबास, आफ्नै घर बनाएर बस्ने चाहना, उपयुक्त आवास तथा स्थानीय तहसँगको समन्वयका विषयमा छलफल भएको थियो। समुदायको आवश्यकता र मुखियाको सहमतिअनुसार आवास व्यवस्थापनका सम्भावना अध्ययन गरी कर्णाली प्रदेश सरकार र सम्बन्धित स्थानीय तहसँग सहकार्य गरेर अघि बढ्ने विषयमा कुराकानी गरिएको थियो। स्वास्थ्य सेवाको पहुँच विस्तारमा छलफल स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँगको भेटमा राउटे समुदायका सदस्यलाई सहज र नियमित स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने विषयमा छलफल भएको थियो। समुदायको विशिष्ट जीवनशैली र बसोबासको अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य परीक्षण, उपचार तथा आधारभूत स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न आवश्यक पहलका विषयमा मन्त्री बादीले ध्यानाकर्षण गराएकी थिइन्। समुदायको चाहनाअनुसार विशेष विकास प्याकेज यसअघि कर्णाली प्रदेश भ्रमणका क्रममा मन्त्री बादीले राउटे बस्तीमै पुगेर समुदायका मुखिया तथा सदस्यहरूसँग प्रत्यक्ष संवाद गरेकी थिइन्। सो क्रममा समुदायका सदस्यहरूले आफ्नै घर बनाएर बस्ने, पढ्ने, विभिन्न सीप सिक्ने तथा बाहिरी समुदायसँग घुलमिल हुनेजस्ता इच्छा र चाहना व्यक्त गरेका थिए। समुदायले व्यक्त गरेका चाहनालाई सम्बोधन गर्दै उनीहरूको मौलिक पहिचान, भाषा, संस्कृति र परम्परागत जीवनपद्धतिमा असर नपर्ने गरी विकासका कार्यक्रम अघि बढाउने मन्त्री बादीको पहल छ। विकासका नाममा समुदायमाथि कार्यक्रम थोपर्नुभन्दा उनीहरूकै आवश्यकता, इच्छा र प्राथमिकताका आधारमा योजना बनाउनुपर्नेमा उनको जोड छ। यसका लागि छुट्टै अध्ययन कार्यदल गठन गरी राउटे समुदायको वर्तमान अवस्था, आवश्यकता, भाषा, परम्परागत ज्ञान, सीप र कलाको विस्तृत अध्ययन गर्ने तयारी गरिएको छ। कार्यदलको अध्ययनका आधारमा समुदायको पहिचान र सांस्कृतिक अस्तित्वको संरक्षणसँगै आवास, शिक्षा, स्वास्थ्य, सीप विकास, रोजगारी, जीविकोपार्जन तथा उत्पादनको बजारीकरण समेटिएको विशेष विकास प्याकेज तयार गर्ने विषयमा छलफल भएको छ। मुखियासँग पुनः भेटेर समुदायको सहमतिमा कार्यक्रम अघि बढाइने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनका लागि कर्णाली प्रदेश पुग्ने क्रममा मन्त्री बादीले राउटे समुदायका मुखियासँग पुनः भेट गर्ने तयारी गरेकी छन्। मुखियाको अनुमति र समुदायको सक्रिय सहभागितामा उनीहरूको जीवनस्तर सुधारका कार्यक्रम अघि बढाउने योजना रहेको छ। समुदायको बसोबास, शिक्षा, स्वास्थ्य, सीप विकास, रोजगारी तथा अन्य समुदायसँगको सामाजिक अन्तरक्रियाका अवसर विस्तार गर्ने विषयमा समेत छलफललाई निरन्तरता दिइनेछ। राउटे समुदायको भाषा, संस्कृति, परम्परागत ज्ञान, सीप र कलाको पहिचान जोगाउँदै उनीहरूले चाहेको परिवर्तन र विकासमा सहयोग पुर्याउने उद्देश्यले मन्त्री बादीले विभिन्न मन्त्रालयसँग प्रत्यक्ष समन्वय गरेकी हुन्। समुदायको आवाज सिंहदरबारसम्म पुर्याउँदै उनीहरूको आवश्यकता र रोजाइअनुसार विकासका कार्यक्रम अघि बढाउन विशेष विकास कार्यक्रमको खाका तयार गर्ने पहल अघि बढाइएको छ।