काठमाडौँ। नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले झापाको चारआलीमा निर्माणाधीन पेट्रोलियम भण्डारण केन्द्रको संयुक्त रूपमा शिलान्यास गरेका छन् । दुवै देशका प्रधानमन्त्रीले सोमबार दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत चारआलीमा निर्माणाधीन पेट्रोलियम भण्डारण केन्द्रको शिलान्यास गरेका हुन् । भारतका प्रधानमन्त्री मोदीले सिलिगुडी–चारआली पेट्रोलियम पाइपलाइन र भण्डारण केन्द्रको शिलान्यासले दुवै देशबीचको आपूर्ति साझेदारी थप सुदृढ बनाउने बताएका छन् । नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र साहले चारआलीमा निर्माणाधीन पेट्रोलियम भण्डारण केन्द्रको शिलान्यासले नेपालको पूर्वी क्षेत्रमा पेट्रोलियम पदार्थको आयात सहज हुने बताए । परियोजनाअन्तर्गत भारतको सिलिगुडीदेखि झापासम्म ५० किलोमिटर पेट्रोलियम पाइपलाइन निर्माण गर्ने योजना छ । भारत सरकारले पाइपलाइन र भण्डारण केन्द्र दुवै अनुदानमा निर्माण गरिदिन लागेको हो । “अहिले पूर्वी नेपालमा ट्याङ्करमार्फत पेट्रोलियम पदार्थ ल्याउने काम भइरहेको छ,” प्रबन्ध निर्देशक शाहले भने, “यो परियोजना सम्पन्न भएसँगै पाइपलाइनबाट पेट्रोलियम पदार्थ सहजै ल्याउन सकिनेछ ।” भारत सरकारको अनुदानमा पाइपलाइन र भण्डारण केन्द्र निर्माण हुन लागेको साहले बताए । “अहिले झापामा पेट्रोलियम पदार्थको भण्डारण केन्द्रको टर्मिनलको शिलान्यास भएको हो । पाइपलाइन निर्माणका लागि पनि आवश्यक साइट क्लिरेन्सलगायतका काम भइरहेका छन्,” उनले भने । प्रबन्ध निर्देशक साहका अनुसार पेट्रोलियम भण्डारण केन्द्र निर्माणमा करिब छ अर्ब रुपैयाँ र पाइपलाइन निर्माणमा करिब पाँच अर्ब रुपैयाँ लागत लाग्ने अनुमान छ । झापामा निर्माणाधीन भण्डारण गृहको कुल क्षमता १८ हजार ९०० किलोलिटर रहेको छ । यहाँ डिजेल, पेट्रोल र मट्टीतेललगायतका पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिनेछ । दुवै मुलुकका प्रधानमन्त्रीले सोमबार मोतिहारी–अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरणको परियोजनाको पनि उद्घाटन गरेका छन् ।